कलाले भरिएको ललितपुर महानगरपालिका १६ वडाबारे दुई पुस्तक सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, ११ : ००
कलाले भरिएको ललितपुर महानगरपालिका १६ वडाबारे दुई पुस्तक सार्वजनिक

काठमाडौं ।ललितपुर महानगरपालिका १६ वडाको प्रोफाइल तथा वडा १६ चिनारी पुस्तक सार्वजनिक भएको छ । वडा १६ का सल्लाहकार डा. गम्भीरलाल राजभण्डारीले एक समारोहकाबीच उक्त दुई प्रकाशन सार्वजनिक गरेका हुन् ।

२ वर्षभन्दा बढी समय लगाएर वडाका प्रत्येक घरधुरी पुगी तयार पारिएको वडाको प्रोफाइल सगुन धाख्वाको संयोजकत्वमा तयार पारिएको हो ।विनय धाख्वा, साक्षी राजभण्डारी तथा २० जना तथ्याङ्क संकलनहरूको सहभागितामा तयार पारिएको प्रोफाइलका बारे बोल्दै संयोजक धाख्वाले कोभिड १९ को महामारी लगायत अनेकौं बाधा ब्यवधानकाबीच प्रोफाइल तयार गर्न सकेकोमा खुशी ब्यक्त गरे ।

मन्तब्यकै क्रममा उनले वडाका वासिन्दा, घरधुरी, सम्पदा लगायतका महत्वपूर्ण तथ्याङ्कीय स्थितिबारे पनि प्रकाश पारे ।३५ विश्व कला नगरीको रुपमा उल्लेख भएको ललितपुर महानगर तथा यस महानगरभित्रको सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण १६ वडाको चिनारी पुस्तक भने रविन्द्र शाक्यको संयोजकत्वमा तयार पारिएको हो । सुनील महर्जनको सम्पादनमा प्रकाशित २०० पृष्ठको चिनारी पुस्तकमा अमृत बज्राचार्य, विजयज्योति र विकास खड्गेको फोटो रहेको छ भने क्यू–ग्राफिक्सका भूषण कपालीको डिजाइन रहेको छ ।

पुस्तकमा वडाका जनप्रतिनिधिहरूको परिचय, वडा परिचय, सम्पदा, पाटीपौवा, पर्यटकीय क्षेत्र, अमूर्त सम्पदा, बहाःबही परिचय, पानीको श्रोत, वडा विवरण, वडा गतिविधि तथा कोषहरूबारे उल्लेख गरिएको छ ।

पुस्तक लोकर्पण कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै वडा अध्यक्ष निर्मलरत्न शाक्यले वडाको प्रगतिकै लागि दिनरात नभनी खट्ने सम्पूर्णप्रति कृतज्ञता ज्ञापन गर्दै वडा प्रोफाइल एवं चिनारी तयार गर्न योगदान गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरे । कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले वडा एतिहासिक, सांस्कृतिक पहिचानमा वडाका जनप्रतिनिधि तथा वडाका वासिन्दाहरूको समर्पणले नमूना वडाको रुपमा स्थापित गरेको उल्लेख गरे । 
 

प्रतिक्रिया दिनुहोस