एक सातादेखि लगातार ओरालो लागेको शेयर बजारमा सुधार, १३ अंकले बढ्यो नेप्से

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १६ : १४
एक सातादेखि लगातार ओरालो लागेको शेयर बजारमा सुधार, १३ अंकले बढ्यो नेप्से

काठमाडौं ।नयाँ वर्ष २०७९ लागेदेखि एक सातासम्म निरन्तर ओरालो लागेको शेयर बजारमा मंगलवार सुधार भएको छ । नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ अंकमा पुगेको हो । 

बजार बढेको भए पनि २२९ कम्पनीका ३२ लाख २३ हजार कित्ता शेयरको २७ हजार पटक मात्रै कारोबार भएको छ । यसबाट १ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको छ । बजार बढेको दिन दुई कम्पनीको नेस्डो लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज शिवश्री हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य पनि ४.२९ प्रतिशतसम्मले बढेको छ । 

बजार बढेको दिन गुमाउने कम्पनीहरूमा दिव्यश्वरी हाइड्रोपावर, कालीका लघुवित्त वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स, स्वावलम्बन लघुवित्तसहितका कम्पनी छन् । यी कम्पनीको शेयर मूल्य ८.८२ प्रतिशतसम्मले घटेको छ । 

आज सबैभन्दा बढी रकम कारोबार हुनेमा नबिल बैंक छ, जसको ६ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी शेयर कारोबार हुनेमा भने अपि पावर कम्पनीको १ लाख १४ हजार पटक छ । 
 

प्रतिक्रिया दिनुहोस