तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय स्थानीय कमिटीबाटै हुन्छ : महामन्त्री थापा

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, १३ : १५
तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय स्थानीय कमिटीबाटै हुन्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने समझदारी भएपनि तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टीको स्थानीय कमिटीलाई रहेको बताएका छन् ।

उनले पार्टी केन्द्रको निर्णयलाई आधार मानेर उम्मेदवार टुंगो लगाउन र नतिजा आफ्नो पक्षमा पार्ने गरी प्रचार प्रसारमा लाग्न आग्रह गरेका छन् । ‘पार्टीले अवस्था र आवश्यकताका आधारमा तालमेल गर्न सक्ने भनेर निर्णय गरेको छ, त्यो भनेको तालमेल गर्न पनि सक्ने, नगर्न पनि सक्ने भन्ने हो । यसको निर्णय केन्द्रीय सभापति वा केन्द्रीय समितिले गर्ने होइन, तालमेल गर्ने कि नगर्ने भन्ने निर्णय स्थानीय कमिटीबाटै हुन्छ,’ उनले भने ।

शनिबार गृहनगर बुढानिलकण्ठमा आयोजित चियापान कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन गरेर चुनाव लड्ने तयारी गर्दा पार्टी पंक्ति र मतदाताको धारणालाई केन्द्रमा राख्न आग्रह गरे ।

‘हाम्रा पुराना मतदाताको संख्या एउटा छ, अहिले त्यतिकै संख्यामा नयाँ मतदाता थपिनुभएको छ । हामीले नयाँ पुराना मतदाताको साथलाई जोगाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘तर तपाईंहरूले ध्यान दिनुपर्ने कुरा के हो भने भुँइको टिप्न खोज्दा पोल्टामा नपोखियोस् । पार्टीमा छलफल र संवाद गरेर अघि बढ्नुहोला ।’

महामन्त्री थापाले कांग्रेस एक्लै चुनाव लड्न सक्ने भएपनि तालमेल गर्ने नाउँमा कम्युनिष्टहरू फेरि नाटकीय एकता गर्न सक्ने भएकाले त्यस्तो हुन नदिनका लागि समेत कांग्रेसले केही पार्टीहरूलाई साथै लिएर अघि बढेको बताए ।

‘पार्टीभित्र फरक फरक धारणा थियो, कांग्रेस एक्लै चुनाव लड्न नसक्ने होइन, विगतमा एक्लै लड्दै आएको पनि हो । तर नेपालका कम्युनिष्टहरू चुनावमा एक्लै लड्ने होइन, चुनावी तालमेल र उस्तै परे एकता नै गर्न पनि पछि पर्दैनन्,’ उनले भने, ‘त्यसैले त्यो कुरा तोड्नका लागि भएपनि तालमेल गर्नुपर्छ भनेर हामी यो निष्कर्षमा पुगेका हौँ ।’

प्रतिक्रिया दिनुहोस