माडीको विशेषता अब विश्व बजारसम्म

बुधबार, ०२ जेठ २०७५, १२ : ४८
माडीको विशेषता अब विश्व बजारसम्म

चितवन । माडीका पर्यटकीय गन्तव्यलाई विश्व बजारसम्म पु¥याउने काम शुरु भएको छ । माडीमा रहेका धामिर्क ,संकृति विषेशता झल्किएका तस्विरहरु मार्फत विश्व बजारसम्म पु¥याउन कलाकारहरुले विभिन्न क्यानभासमा चित्र कोरेका छन् । पर्यटन विकास समिति माडीले आयोजना गरेको कला कार्यशालामा ३० वटा चित्र तयार भएका छन् । 
चित्रकार दामोदर बराल आफ्नै जन्मथलोको पर्यटन प्रवद्र्धन गर्ने गरी चित्र कोर्न पाउँदा निकै खुसी देखिन्छन् । माडी–८ मा रहेको अयोध्यापुरी सामुदायिक होमस्टे शिवद्वारको सांस्कृतिक भवनमा बरालसहित १४ जना चित्रकार माडीलाई चिनाउने चित्र बनाउन व्यस्त थिए । “माडी पर्यटन सम्भावना बोकेको क्षेत्र हो”, उनले भने, “यहाँका गन्तव्यलाई प्रचार गरे पर्यटक चहलपहल अवश्य बढ्नेछ ।” उनले घाँघर खोलाको सिरानमा रहेको पहाडको खोँचमा रहेको बैंकुण्ठे ताल वरिपरिको दृश्य क्यानभासमा उतारेका छन् । “माडीमा थुप्रै गन्तव्य छन्, जहाँ पर्यटक रमाउन सक्छन्”, उनले भने, “चारैतिर पहाडले घेरिएको माडी प्राकृतिकरुपमै सुन्दर छ ।” माडी–८ मा रहेको बैकुण्ठे धार्मिक क्षेत्रभित्रको बैकुण्ठे तालले धेरैलाई लोभ्याउँछ । यो क्षेत्रमा बालाचतुर्दशीका दिन ठूलो मेला लाग्ने गर्छ ।

कला पत्रकार तथा चित्रकार केशवराज खनालले परम्परागत जीवनशैली र बसाइका लागि अवलोकन तथा अध्ययनका लागि उपयुक्त गन्तव्य भएको बताए । “आधुनिकताको होडबाजीले माडीको पहिचानलाई मेटाएको छैन”, उनले भने, “रमणीय ससाना घर छन् । पदयात्राका लागि थुप्रै गन्तव्य छन् । यहाँको सौन्दर्यता फरक छ ।” उनले माडीको ऐतिहासिक क्षेत्र सोमेश्वरगढीबाट सजिलै ‘बर्डआई भ्यू’ (आकासबाट देखिने दृश्य)मार्फत अवलोकन गर्न सकिने बताए । उनले शिवद्वार होमस्टे नजिकैको बसाई र वास्तुकलालाई चित्रमा उतारेका छन् ।

माडी–४, सिधुवाका दिनेश्वर गौतम कयौंपटक अन्तर्रा्ष्ट्रियस्तरका कला प्रदर्शनीमा सहभागी भएका छन् । “माडी थारु संस्कृति अवलोकन गर्ने उपयुक्त गन्तव्य हो, तर प्रचार हुन सकेन”, उनले भने, “पूर्वाधार विकास गर्न सक्ने हो भने माडी स्वर्ग बन्न सक्छ ।” उनले आफ्नो चित्रमा थारुका परम्परागत वस्तीलाई उतारेका छन् ।

चित्रकार योगेश खनालले माडी–१ मा रहेको गोद्धक क्षेत्रको दृश्य उतारेका छन् । “माडी धार्मिक पर्यटनमा धेरै अगाडि देखिन्छ”, उनले भने, “यहाँका गन्तव्य जोड्ने गरी पदमार्ग बनाउने हो भने धेरै पर्यटक भित्रिन सक्छन् ।” ललितकला केन्द्रीय विभागमा ७ वर्षदेखि प्राध्यापन गर्दै आइरहेका लालकाजी लामा माडी देवभूमि भएको बताउँछन् । “माडीमा दुःख छ भनेर चित्रण गर्नु गलत हो”, उनले भने, “जे हो, त्यो बाहिर आएको छैन, पर्यटनको ‘टिपिकल’ क्षेत्र हो ।” उनले सोमेश्वरगढीमा रहेको ढुंगाको प्राचीन डुँगालाई क्यानभासमा उतारेका छन् ।

संखुवासभाका चित्रकार दलबहादुर राई माडीलाई ‘बत्तीमुनिको अध्याँरो’ भन्छन् । “कयौं जिल्लामा कृत्रिम पर्यटकीय गन्तव्यले पर्यटक लोभ्याएका छन् । तर, माडी प्राकृतिकरुपमै सुन्दर छ”, उनले भने, “माडीका गन्तव्यलाई विदेशसम्म प्रचार गरेर पर्यटन गतिविधि बढाउन कठिन छैन ।” चित्रकारले एक्रेलिक कलरमार्फत चित्र कोरेका छन् । बालुवामा कला कोर्ने चित्रकारका रुपमा स्थापित प्रकाश थापा (प्रथा) ले माडीको पर्यटन विकास गर्न गन्तव्य चिनाउने अभियानै चलाउनुपर्ने बताए । “गन्तव्य प्रशस्तै छन्, तर प्रचार निकै कम छ”, उनले भने, “स्थानीय जागरुप बनेमा माडी पर्यटकको मुख्य रोजाइँमा पर्ने सम्भावना छ ।” विभिन्न जिल्लाबाट आएका कलाकारलाई माडीका पर्यटकीय गन्तव्य भ्रमण गराएर कार्यशालामा सहभागि गराइएको थियो ।

पर्यटन विकास समितिका अध्यक्ष नारायण पौडेल पर्यटन बजारमा चिनाउन कला कार्यशाला गरिएको बताउँछन् । “अन्तर्रा्ष्ट्रियस्तरमा कलाप्रदर्शनीमा सहभागी भएका कलाकारबाट माडीलाई चिनाउन खोजेका हौँ”, उनले भने, “तयार भएका चित्र देशका मुख्य शहरमा प्रदर्शनीमा राखिनेछन् ।” उनले सौराहादेखि बगई र वाल्मीकि आश्रमदेखि गोद्धक जोड्ने पदमार्ग बनाएर माडीमा सहजै पर्यटक आउने जाने वातावरण बनाउन लागिपरेको बताए ।“गन्तव्यसम्म पुग्ने पदमार्ग बनाउन बजेट माग गरेका छौँ । होमस्टे विस्तार गरिनेछ”, उनले भने, “निकुञ्जको काखमा रहेको माडीको पर्यटन विकास गर्न सोही अनुसार ऐन संशोधन हुनुपर्छ । पर्यटकलाई ‘टुर प्याकेज’ बनाएरै स्वागत गर्ने नीति विकास गरिनेछ ।” माडी नगरपालिकाले चालु आर्थिक वर्षमा माडीको पर्यटन प्रवद्र्धन गर्न झण्डै ८० लाख खर्चिदैछ ।
 

प्रतिक्रिया दिनुहोस