पाकिस्तानमा आज नयाँ प्रधानमन्त्री चयन हुने

एजेन्सी

सोमबार, २८ चैत्र २०७८, १३ : २४
पाकिस्तानमा आज नयाँ प्रधानमन्त्री चयन हुने

काठमाडौँ । पाकिस्तानको संसदले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्दैछ । इरान खान संसदमा विश्वासको मत प्राप्त नगरेपछि सत्ताच्यूत भएका थिए ।नयाँ प्रधानमन्त्रीका लागि (पाकिस्तान मुस्लिम लिग नवाज) पिएमएलएनका शहबाज शरिफले मनोनयन दर्ता गरेका छन् ।

उनले गठबन्धनको नेतृत्व गरेर ६९ वर्षका खानलाई प्रधानमन्त्रीबाट हटाउन प्रमुख भूमिका खेलेका थिए । नयाँ प्रधानमन्त्री चयनका लागि नेपाली समय अनुसार दिउँसो पौने ३ बजे संसदमा मतदान हुनेछ ।

७० वर्षका शहबाज शरिफ यसअघि तीनपटक प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । शरिफलाई पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का अध्यक्ष बिलावल भुट्टो जर्दारीसहितको समर्थन रहने छ ।संसदमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु भए पनि इमरान खानका समर्थकले भने देशका प्रमुख शहरमा प्रदर्शन गरेका छन् ।अमेरिकाको सहयोगमा विपक्षी दलले आफूलाई सत्ताबाट हटाएको आरोप उनले लगाउँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस