पश्चिम तराईमा बढ्यो गर्मी

पत्रपत्रिकाबाट

सोमबार, २८ चैत्र २०७८, ०८ : ०२
पश्चिम तराईमा बढ्यो गर्मी

काठमाडौं । साता दिनयता पश्चिम तराईमा गर्मी ह्वात्तै बढेको छ। मौसम परिवर्तनसँगै गर्मी बढ्दा सर्वसाधारणको दैनिक कामकाज प्रभावित हुँदै गएको छ।

साता दिनयता तराईको तापक्रम उकालो लाग्दै गएको छ। नेपालगन्जमा आइतबार देशभरिको सबैभन्दा बढी गर्मी महसुस भयो। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार आइतबार यहाँको अधिकतम तापक्रम ३८ र न्यूनतम तापक्रम २४ डिग्री सेल्सियस पुग्यो। सुदूरपश्चिमको राजधानी धनगढीमा पनि तापक्रम उच्च रह्यो। आइतबार धनगढीको अधिकतम तापक्रम ३७.५ र न्यूनतम तापक्रम २२.५ डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसक विज्ञान कार्यालयले जनाएको छ। धनगढीमा नेपालगन्जपछिको धेरै गर्मी महसुस गरिएको छ।  

त्यस्तै रुपन्देहीको भैरहवामा अधिकतम ३५.४ र न्यूनतम २४.४ डिग्री सेल्सियस र दाङको घोराहीमा अधिकतम तापक्रम ३४.२ र न्यूनतम तापक्रम २१.३ डिग्री सेल्सियस रह्यो। तराईमा मात्र होइन पहाडी तथा हिमाली जिल्लामा पनि तापक्रम बढ्दो क्रममा छ। सुर्खेतको वीरेन्द्रनगरको अधिकतम तापक्रम ३५.८ र न्यूनतम तापक्रम १८.७ डिग्री सेल्यिस छ। दिपालयमा पनि धेरै गर्मी महसुस गरिएको छ। दिपायलको अधिकतम तापक्रम ३६.९ र न्यूनतम तापक्रम १६.५ डिग्री सेल्सियससम्म पुगेको छ।  

पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको र आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान कार्यालयले अनुरोधसमेत गरेको छ। ह्वात्तै गर्मी बढेपछि दैनिक ज्याला मदजुरी गरेर खाने वर्गलाई समस्या भएको छ। ‘दिउँसो गर्मीले कामै गर्न सकिँदैन,’ नेपालगन्जका निरज ओलीले भने, ‘गर्मीले गर्दा काम प्रभावित हुन थालेको छ।’ नेपालगन्जलगायतका क्षेत्रमा दिउँसो सामान्य तातो हावासमेत चल्न थालेको छ। नागरिक दैनिकमा खबर छ ।