काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा ५ दिनदेखि हराएका बालकको शव छिमेकीको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको छ।मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी जितेन्द्र ठाकुरका छोरा १० वर्षीय मिठु ठाकुरको बिहीबर शव फेला परेको हो। बालकको शव छिमेकी जगदीश ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा बोराभित्र हालेर लुकाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आकाश गत चैत २० गते आइतबार राति ८ बजे गाउँमै न्वारानको भोज खान जाँदा हराएको भन्दै सोही राति ११ बजे मृतकको परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो। लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले जगदीश ठाकुर सहितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनैले बालकको शव देखाएको प्रहरीले बताएको छ।
आज बिहानै सेफ्टी ट्यांकीबाट निकालिएको छोराको शव देखेदेखि मृतक बालककी आमा महासुन्दर ठाकुर भावविह्वल छिन्। पटक–पटक अचेत भइरहेकी उनलाई आफन्त एवं छिमेकीले पानी खुवाउने लगायत सम्हाल्ने काम गरिरहेका छन्। छोरा बेपत्ता भएको खबर सुनेपछि वैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेका मृत बालकका बुबा जितेन्द्र दुई दिनअघि मात्र घर फर्केका छन्। जितेन्द्रका आकाश जेठा छोरा हुन् भने कान्छा छोरा १ वर्षका तथा दुई छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ।
बालकको शव पोष्टमार्टमका लागि सदरमुकामस्थित प्रादेशिक अस्पतालमा मलंगवामा लगिएको छ। प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुर सहित उनको परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
जगदीशका परिवारले बालकलाई बन्धक बनाएर तीन दिनअघि नै आफ्नै घरको माथिल्लो तलाको दक्षिणतर्फको कोठामा हत्या गरेको र बोराभित्र राखेर सेफ्टी ट्यांकी भित्र लुकाएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।उनीहरूले बालकका बुबालाई फोन गरेर पैसा समेत माग गरेको बुझिएको छ। घटनाको स्वतन्त्र पुष्टि भइसकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ चैत्र २०७८, १४ : १६
लेखकबाट थप