मछिन्द्रले नपाएको मेसौके

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, १४ : ४६
मछिन्द्रले नपाएको मेसौके

काठमाडौं । राष्ट्रिय टोलीका अधिकांश र नेपालमा उपलब्ध उत्कृष्ट विदेशी खेलाडी प्रेरित मछिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन भयो । पाँचौं चरणमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्रले एएफसी कप–२०२२ प्लेअफका लागि छनोट हुने लगभग छाँट देखायो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नियमअनुसार यस पटक शीर्ष डिभिजन लिगको सातौँ चरण सकिँदा शीर्षस्थानमा रहने टोलीले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने थियो । सातौँ चरण सकिँदा शीर्षस्थानमा रहेको मछिन्द्र अन्तिमसम्म आइपुग्दा दुई खेलअघि नै लगातार लिग जित्न सफल भयो । 

एएफसी क्लब लाइसेन्स भएका कारण मछिन्द्रले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्ने अवसर पायो । उसले प्रतिद्वन्द्वी पायो श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार एससी । फिफा वरीयतामा श्रीलंकाभन्दा नेपाल बलियो रहेका कारण मछिन्द्रले घरेलु मैदानमा ब्लु स्टारलाई स्वागत गर्‍याे । 

तर, कमजोर मानिएको ब्लु स्टारले मंगलबार भएको पहिलो प्ले अफमा मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजा निकाल्यो । घरेलु मैदानमा मछिन्द्र २–१ अन्तरले पराजित भयो र समूह चरण खेल्ने सपना साकार पार्न सकेन । खेल सुरु भएको केही मिनेटमै मछिन्द्रले आक्रामण बुन्ने प्रयास गर्‍याे । तर, सफल भएन । मछिन्द्रको सुरुवाती ‘पेस’ का कारण ब्लु स्टारले रक्षात्मक खेल खेल्यो । यस्तो अवस्थामा उसले मानसिक गेम खेल्यो र गोल पनि गर्‍याे । 

हुन त मछिन्द्र क्लबका गोलरक्षक विशाल श्रेष्ठले आफ्नो जादू नदेखाएका पनि हैनन् । ब्लु स्टारले पेनाल्टीमार्फत अग्रता बनाउने प्रयासलाई असफल पारिदिए । तर, ब्लु स्टारका मोहमेद इसान र सेनाल सन्देशलाई मछिन्द्रका रक्षकले रोक्न नसक्दा मछिन्द्र घरेलु मैदानमा निराश बन्यो । खेलको अन्त्यतिर कप्तान सुजल श्रेष्ठले गोल गरे पनि त्यो खेल जित्न पर्याप्त थिएन । 

खेलमा मछिन्द्रले केही अवसर बनायो पनि । तर, एक दर्जनभन्दा बढी मछिन्द्रको आक्रामण प्रयास सफल भएन । २-३ राम्रा बल पोलमा ठाेक्किन पुगे । मछिन्द्र खास फाइनल टचमा पुगेर असफल भयो । टोली पूर्ण रुपमा फिनिसिङमा चुक्यो । 

हुन त समस्या मछिन्द्रको यो खेलमा मात्र देखिएको हैन । शीर्ष डिभिजन लिग र मोफसलमा समेत देखियो । लिग दुई खेलअघि नै जिते पनि मछिन्द्रले कमै मात्र खेलमा सहज जित पायो । रेलिगेशनमा परेको ब्रिगेड व्बाइज क्लब (बीबीसी)विरुद्ध मात्रै उसले सहज ४-० अन्तरको जित पायो । 

लिग सुरु हुनुअघि नै मछिन्द्रले राष्ट्रिय टोली र केही बाहिर रहेका अग्रपंक्तिमा आधा दर्जन खेलाडी उभ्यायो । तर, सधैँ समस्या फाइनल टचको । जुन समस्या मोफसल र ब्लु स्टारविरुद्ध देखियो । 

यही समस्याको निवारणका लागि उसले मुख्य फरवार्ड नै भित्र्याउने प्रयास गर्‍याे । तर, ब्लु स्टारविरुद्ध सफल भएन । उसले चाहेको थियो, पछिल्लो दुई सिजन घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका क्यामरुन फरवार्ड मेसौके ओलोउमोउ ।

तर, पछिल्लो समय जारी ए डिभिजन क्लब र एनएसएल विवादका कारण मछिन्द्रले उसलाई पाएन । ‘एनएसएलले गर्दा फरवार्ड पाएनौं । त्यो भएको भएर (विवाद) फरवार्ड ल्याउन गाह्रो भयो,’ ब्लु स्टार क्लबसँग पराजित भएपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले भने । 

यसअघि लिग जारी रहँदा नवौँ चरणमा विश्राम भयो । यसपछि क्लब आहारारा गोल्डकप खेल्न मोफसल  गयो । यसक्रममा उसले उही मेसौकेलाई न्युरोड टिम एनआरटीबाट झिकाएको थियो । जहाँ उनको राम्रो तालमेल थियो । गोल पनि गरेका थिए ।  

यसपछि क्लब पदाधिकारी प्लेअफ खेलमा मेसौके झिकाउनेमा ढुक्क थिए । तर, लिग सकिएर मोफसल प्रतियोगिता पूरा नहुँदै ए डिभिजन लिग खेल्ने आठ क्लबले एनएसएल आयोजना र अस्तित्व विषयमा कुरा उठाए । 

फुटबल नियमविपरित मार्की खेलाडी छनोट गरेको, अनुबन्धनमा रहेका खेलाडीको अक्सन नगराउन ए डिभिजन क्लबले माग राखे । तर, चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएल आयोजक ‘नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्ट’ पछि हटेन । यसपछि आठबाट चार क्लबमा झरेका ए डिभिजन क्लबले पत्रकार सम्मेलन गर्दै एन्फालाई चेतावनी नै दिए । 

सुरुवाती चरणमा एनएसएल विरोधी बनेको मछिन्द्र एक्कासि ए डिभिजन क्लबको साथ छोड्दै चौधरी ग्रुपतर्फ मोडियो । ए डिभिजन लिगमा लामो इतिहास बोकेका संकटा क्लब, एनआरटी, थ्रीस्टार र कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङले बारम्बार एनएसएल आयोजना र अस्तित्वको विषयमा कुरा उठाए । जसका कारण प्रतियागिता नै नहुने संघारमा पुगेको छ । आयोजकले प्रतियोगिता अनिश्चितकालीन स्थगित गरेको छ ।

यहि विवादका कारण एनआरटीले आफ्ना भरपर्दा फरवार्ड मछिन्द्रलाई दिन मानेन । एनआरटीले फुकुवा नगरेपछि मछिन्द्र उपलब्ध खेलाडीबाट नै ब्लु स्टारविरुद्ध अन्तिम समयमा उत्रन तयार भयो । ‘गोल गर्ने क्षमता भएका विदेशी खेलाडी नेपालमै दिए । हामीले चाहेको खेलाडी अर्काे क्लब (नाम नखुलाइएको)ले फुकुवा गर्न चाहेन । त्यही समस्या भयो,’ कटुवालले भने । 

पछिल्लो समय घरेलु फुटबलमा मेसौके रुचाइएको फरवार्ड हुन् । संकटा क्लब हुँदै नेपालमा भित्रिएका मेसौकेले एनएसएलमा भने काठमाडौं रेजर्सबाट जादू देखाएका थिए । उनले एक ह्याट्रिकसहित ८ गोल गरे । उनको प्रदर्शन प्रेरित काठमाडौं च्याम्पियन समेत भयो । 

यसपछि लिग हुने टुंगो नलाग्दै एनआरटीले तामझामसहित मेसौके र उनको जोडी खेलाडी स्टेफनलाई दशरथ रंगशालामा सार्वजनिक गर्दै अनुबन्धन गर्‍याे । तर, लिगको सुरुवाती पाँच खेलमा आफ्नो जादू देखाउन नसकेका मेसौकेले पुनः आफू लयमा रहेको जनाउँदै पछिल्ला आठ खेलमा एक ह्याट्रिकसहित सात गोल गरे । 

यता, नेपालमा राम्रो ‘भाउ’ पाएका मेसौकेको पर्खाइमा रहेको मछिन्द्र ब्लु स्टारविरुद्ध पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ । 

 

sharethis sharing button

प्रतिक्रिया दिनुहोस