वैशाखदेखि दैनिक मालढुंगा-बेनी सडक पाँच घण्टा बन्द हुने

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, ११ : ५३

काठमाडौं । पर्वतको मालढुंगादेखि बारी बेनीसम्म जोड्ने सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ। १३ किलोमिटर लम्बाइको सडक स्तरोन्नतिका लागि बन्द गरिने स्थानीय प्रशासनले जनाएको छ।सवारीधासन नियमित चल्दा कालोपत्रे र स्तरोन्नतिको काम प्रभावित हुने भएकाले आगमी वैशाख ३ देखि २५ गतेसम्म सडक अवरुद्ध हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाबीच भएको बैठकले बिहान ११ देखि अपराह्न ४ बजेसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। सवारी सञ्चालनमा रहेकै बेलामा काम गर्दा दुर्घटनाको जोखिम बढेको, कालोपत्रे र स्तरोन्नतिको काम प्रभावित भएका भन्दै बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेको थियो।

प्रजिअ सापकोटाका अनुसार सडक बन्द गरिने समयमा सवारी साधनको डाइभर्सन र व्यवस्थापनका लागि सुरक्षा निकाय तथा सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णय पनि भएको छ। एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गर्ने निर्णय भएको छ।

उक्त समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रजिअ सापकोटाले बताए। एम्बुलेन्स, निर्माण सामग्री‚ अत्यावश्यक सामग्री बोकेका गाडीलाई सहजीकरण गरिने उनको भनाइ छ।

५२ करोड ८६ लाख रूपैयाँमा ठेक्का सम्झौतामा सडक बिस्तार, पर्खाल र नाली निर्माणको काम चलिरहेको छ। कालोपत्रेसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई स्तरोन्नति गरी नौ मिटरको बनाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस