भारतीय सीमा समस्यामा राजनीतिक दाउपेच

पत्रपत्रिकाबाट

बुधबार, २३ चैत्र २०७८, ०७ : ३९
भारतीय सीमा समस्यामा राजनीतिक दाउपेच

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग दुई देशबीचको सीमा समस्याको मुद्दा उठाए। सीमा समस्याको विषयमा दुई देशबीचमा बढिरहेको तिक्तता र संवादहीनतालाई चिर्दै देउवाले यो विषय उठान गरेका थिए।

दुई समकक्षीबीच भएको संवादलाई प्रधानमन्त्री देउवाले नै सार्वजनिक गरे। दुई प्रधानमन्त्रीबीच भेट, प्रतिनिधिमण्डल स्तरीय वार्ता र केही सम्झौताहरूपछि देउवा–मोदीको संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने, ‘हामीले सीमा समस्याबारे पनि छलफल गर्‍यौं। मैले मोदीजीलाई यो विषय स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरौं भनेको छु।’ प्रधानमन्त्री देउवाले यो विषयमा सार्वजनिक रूपमा बोले पनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिक्रिया दिएनन्।

प्रधानमन्त्री देउवाको यो भनाइलाई भारतीय विदेश मन्त्रालयले भने पुष्टि गरिसकेको छ। विदेश सचिव हर्षवर्धन शृंगलाले प्रधानमन्त्री देउवाले सीमा समस्याबारे धारणा राखेको प्रस्ट्याए। पत्रकार सम्मेलनमा उनले भने, ‘दुई प्रधानमन्त्रीबीच यस विषयमा संक्षिप्त रूपमा छलफल भएको थियो, दुवै पक्षले यसलाई वार्ताका माध्यममार्फत जिम्मेवारीपूर्ण रूपमा सम्बोधन गर्नुपर्छ भनेर आम समझदारी भयो।’ यति भन्दाभन्दै पनि भारतले सीमा समस्याको विषयलाई नेपालमा राजनीतीकरण गरिएको भन्दै चिन्ता देखायो।

विदेश सचिव शृंगलाले नजिकको सम्बन्ध भएका दुई देशबीचमा सीमा समस्या समाधान गर्नुपर्ने भारतको पनि धारणा रहेको बताउँदै नेपालमा भने राजनीतीकरण गरिएको भनी चिन्ता व्यक्त गरे। ‘हाम्रो नजिक र मैत्री सम्बन्धको भावनाका कारण सीमा विवाद समाधान गर्नुपर्छ। यस्तो विषयलाई राजनीतीकरण गर्नु हुन्न,’ उनले अगाडि भनेका छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस