शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी

सफल खबर संवाददाता

मंगलबार, २२ चैत्र २०७८, १७ : २४
शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी

काठमाडौं ।मकवानपुरको बागमती गाउँपालिकास्थित जनता माविका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्  विद्यालयमा अध्यापन गराउने तीनजना शिक्षकले सोही विद्यालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी गरिएको हो। शिक्षकले आफूहरूलाई गलत नियतले छुने गरेको भन्दै छात्राहरूले चैत १४ गते विद्यालयमा निवेदन दिएका थिए।

सोही विषयमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो तर बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरूले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेको विद्यालयका प्रधानाध्यापक वसन्तराज खरेलले जानकारी दिए।

‘राजनीतिक दलसहित विद्यालय व्यवस्थापन समिति, शिक्षकहरू र विद्यार्थीलाई समेत राखेर हामी छलफल गर्दै थियौ’, उनले भने, ‘छलफलका क्रममा चित्त नबुझेपछि बाहिर निस्किएर विद्यार्थीहरूले तोडफोड गर्दै तालाबन्दी गरेका छन्।’

उनका अनुसार विद्यालयलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको प्रहरी टोलीले सुरक्षा दिइरहेको छ। विद्यालयका ४ देखि ८ कक्षासम्म अध्ययनरत छात्राले विद्यालयका तीनजना शिक्षकले आफूहरूलाई गलत नियतले छुने गरेको आरोप लगाएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले विद्यालयमा तोडफोड भएको खबर आएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको बताए। उनले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस