स्थानीय तह निर्वाचन

कांग्रेस सभापति देउवालाई गठबन्धनका तीन चुनौती, तीन स्वार्थ

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, ०९ : ५०
कांग्रेस सभापति देउवालाई गठबन्धनका तीन चुनौती, तीन स्वार्थ

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटकको स्थानीय निर्वाचनमा पार्टीलाई ठूलो दल बनाउन चाहेका छन् ।  अघिल्लोपटक उनकै नेतृत्वमा कांग्रेस स्थानीय निर्वाचनमा जाँदा एमालेसँग हा¥यो । हारको दोष पार्टीको संस्थापनइतर पक्षले उनीमाथि नै थोपरीदिए । 

राजनीतिक विश्लेषक डा. विष्णु दाहालका अनुसार यसपटक देउवा पार्टीलाई पहिलो बनाएर जस लिन चान्छन् । त्यसकै लागि संसद्मा रहेका बाँकी चार दलसँग मोर्चाबन्दी कसेका हुन् । तर, गठबन्धनमा चुनावी तालमेल गर्न देउवासामु तीनवटा चुनौती रहेको विश्लेषण डा। दाहालको छ । पहिलो–निर्वाचनमा डा. शेखर कोइराला पक्षलाई सिट बाँडफाँट, दोस्रो–गठबन्धनका बाँकी चार घटकलाई सिट बाँडफाँट र एमालेसँग प्रतिस्पर्धा ।  हुन् पनि शेखर पक्ष चैतको दोस्रो साता सकिएको पार्टी केन्द्रीय समिति बैठकमै चुनावी तालमेलको विपक्षमा उभियो ।

मुख्य प्रतिस्पर्धी दल एमाले दुई टुक्रा भएको अवस्थामा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत अघि सा¥यो । तर, बहुमत केन्द्रीय सदस्य गठबन्धनको पक्षमा उभियो र फरक मत मात्र शेखर पक्षको दर्ज भयो । तर, अहिले पनि शेखर पक्षले चुनावी तालमेलको विरोध गरिरहनुको कारण गठबन्धनका दलहरूबीच स्थानीय तह भागबण्डा गर्दा कांग्रेसले पाउनेमध्येबाट भाग लिन भइरहेको ‘बार्गेनिङ’को रूपमा  दाहाल लिन्छन् । देउवाका लागि यो एउटा चुनौती भएको उनले बताए । गठबन्धनमा रहेका बाँकी चार दलमध्ये पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध डा. शेखर पक्षीय नेताहरू आक्रोश पोखिरहेका छन् । 

आक्रोश पोख्नेहरू उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापादेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सभापतिसम्म छन् । गठबन्धनमा रहेकै दल र तीनका नेताविरुद्ध यसरी निरन्तर गठबन्धनमा दरार आउनेगरी आक्रोश पोखिरहँदा देउवाले रोक्न सकेका छैनन् । गठबन्धन ‘मोडालिटी’ पनि तयार भएको छैन । तर, स्थानीय आवश्यकताअनुसार तालमेल गर्नेगरीको ‘मोडालिटी’को पक्षमा कांग्रेस छ । यसप्रति माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीदेखि राष्ट्रिय जनमोर्चा त्यति सन्तुष्ट देखिएका छैनन् । यसलाई पनि डा। दाहाल चुनौतीको रूपमा लिन्छन् । 

र, बलियो प्रतिस्पर्धी एमाले छ । एमाले नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) देखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) गठबन्धन बन्ने सम्भावना बढेको छ । गठबन्धन बने देउवा नेतृत्वको गठबन्धनलाई जित्न अर्को चुनौती थपिने उनले बताए ।

अर्का राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी पनि दाहालको तर्कमा सहमति जनाउँदै भन्छन्, ‘स्थानीय निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको राजनीतिक प्रतिरोध गर्न पनि एमाले नेतृत्वमा अर्को बलियो गठबन्धन बन्ने देखिन्छ । यो चुनौती हुन सक्छ ।’ यसरी दुई ठूला गठबन्धनको दिशामा दलहरू जानुलाई दुई कारण रहेको केसीलाई लागेको छ ।

पहिलो, सत्ता स्वार्थ र दोस्रो, कांग्रेस–एमालेको पहिलो बन्ने र अन्य दलको अस्तित्व जोगाउने उद्देश्य । यही कारण सैद्धान्तिक र वैचारिक बेमेल पार्टीहरूबीच निर्वाचनमा गठबन्धन बनेको हो । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदैछ ।