चैतभित्रै पानी ल्याउने दाबी खानेपानी मन्त्रीले गरे

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १६ : ०१
चैतभित्रै पानी ल्याउने दाबी खानेपानी मन्त्रीले गरे

काठमाडौ ।  खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याइपुर्‍याउने बताएका छन्।बिहीबार मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन्।

उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तीव्र गतिमा कार्ययोजनाअनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए।मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिबद्धता जनाए।अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य मुहानमा ९० प्रतिशत सफाइको काम सकिएको मन्त्री चौधरीको भनाइ छ।उनले भने, ‘मेलम्ची खानेपानीको एक नम्बर गेटबाट पानी पठाउने  काम भएको छ। १७ नम्बर गेट खुलेको छ। २१ नम्बर ९ नम्बर र ३८ नम्बर गेट पनि तयारी भएको छ। अहिले ९ नम्बर बन्ने तयारीमा छ। ९ नम्बर गेट बन्द हुनेबितिकै सबै पानी छाड्छौं।'

त्यस्तै, हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने हेलम्बु गाउँपालिकाको पनि दायित्व रहेको बताए।हेलम्बु गाउँपालिकाले काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने दायित्व पूरा गर्ने तर काठमाडौं वासीले शुल्क तिरेर पानी खाँदा हेलम्बुका जनतालाई २५ प्रतिशत हिंसा पाउनुपर्ने माग राखे।त्यस्तै, मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले महानबाट टर्नेल सफा गर्न १७ नम्बर गेट खुल्ला गरेर काम अगाडि बढाएको बताए।

उनले अहिले मेलम्ची खानेपानीको मुहानको बाहिर काम सकिएको बताए। टर्नेलभित्र भएको लेदो माटो सफा गर्नको लागि सबै गेट खोल्ने तयारीमा रहेको कुँवरले जानकारी दिए।मेलम्चीमा गत असार १ गते आएको बाढीका कारण लेदो सुरुङभित्र पसेको थिया। सुरुङमा पसेको लेदो हटाउन अझै दुई–तीन दिन लाग्ने भएको छ। १७ नम्बरको ढोका खोलिसकेकाले  सुरुङ्मार्ग सफाइको काम अगाडि बढाएको छ।

मेलम्चीमा १, ९, १७, ३८ र २१ गरेर पाँच वटा मुख्य गेट छन्। मुख्यतया पानी पठाउनका लागि आवश्यक पर्ने गेट ९, ३८ १७ र २१ नम्बरका हुन्। यीमध्ये ३८ नम्बर गेट खुलिसकेको छ। बाढीको कारण मेलम्ची खानेपानी आयोजनाको हेडबक्स संरचना २० देखि ३० फिटसम्म पुरिएको थियो।बाढीले हेडबक्स डाइभर्सन टनेल र अम्बाथान अडिट टनेल पनि गेग्रान भरिएको थियो तर पनि सरकारले हेडबक्सका गेग्रान हटाई फास्ट–ट्रयाकमा सुरुङ सफा गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी गरेको छ।

असारको पहिलो साता आएको बाढीले मेलच्ची आयोजनामा ठूलो क्षति पुर्‍यायो। निर्माण सामग्रीसहित स्थायी संरचना पुगेको क्षतिले आयोजनालाई पुनः पछि धकेलेको थियो।यसले काठमाडौंबासीलाई मेलम्चीको पानी कहिलेदेखि उपलब्ध हुन्छ भनेर यकिन थिएन तर मन्त्री सरकारले चैत मसान्तमा नै पानी ल्याउने बताएको छ।

प्रतिक्रिया दिनुहोस