सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, ११ : २७
सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर

काठमाडौ । के गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने रु शिक्षा क्षेत्रमा नियमित उत्पन्न भइरहने यो प्रश्नमा सम्बन्धित विद्यालयका अभिभावक घोत्लिने हो भने समाधानका उपाय निस्कँदै जान्छन् ।
जसरी बालबालिकाको पहिलो पाठशाला घर मानिन्छ, त्यसैगरी विद्यालय सुधार वा रेखदेखको पहिलो जिम्मेवारी पनि अभिभावककै रहन्छ ।
 स्थानीय तहको मातहतमा रहेका सामुदायिक विद्यालयलाई नियमित र नीतिगत नेतृत्व गर्ने काम विद्यालय व्यवस्थापन समितिले गर्छ । स्थानीय तहकै मार्गदर्शनमा गठन, पुनःगठन हुने व्यवस्थापन समितिमा स्वयंसेवीरूपमा ‘केही गरौं’ भन्ने भावना बोकेका व्यवस्थापकीय दक्षता भएका अभिभावकले नेतृत्व गरेमा सामुदायिक विद्यालय सुध्रन गाह्रो नहुने उदाहरण काभ्रेको पनौती नगरपालिकामा पनि देख्न सकिन्छ । 

कुनै बेला बन्दको अवस्थामा पुगेको धनेश्वर माध्यमिक विद्यालय अहिले उल्लेख्य विद्यार्थी संख्यासहित सञ्चालनमा आउनु, विद्यार्थी संख्या घट्दो भएको कुशादेवी माध्यामिक विद्यालयमा आकर्षणसहित विद्यार्थीको उपस्थिति बढ्नु, भालेश्वर माध्यमिक विद्यालयमा शिक्षकले आफ्नो कर्तव्य बोधलाई पुनःजागृत गराउनुले उक्त उदाहरणलाई सहज पुष्टि गर्दछ ।

आफ्ना पेशागत र व्यावसायिक काम छाडेर व्यवस्थापन समितिका पदाधिकारी शनिवार नगरस्तरीय विद्यालयको सुधारमा आफ्नो भूमिकाको खोजीमा अग्रसर हुँदै इन्द्रेश्वर माध्यमिक विद्यालयमा भेला भएर अनुभव आदान प्रदान गरिरहेका थिए । 

कोभिड–१९ अगाडिको तुलनामा इन्द्रेश्वरमा विद्यार्थी संख्या घटेर हाल १ देखि १२ कक्षासम्म ४१५ जना छन् । यहाँ कूल शिक्षक २० जना मात्रै हुँदा कुनै शिक्षकले बिदा लिएर कक्षा बन्द गर्नुपर्ने स्थिति छ भने अंग्रेजी माध्यमका पाठ्यपुस्तक निःशुल्क उपलब्ध नहुने भएकाले तिर्न नसक्ने अभिभावकलाई मार परेको छ ।

 

प्रतिक्रिया दिनुहोस