काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको छैटाैँ वार्षिक साधारणसभा आउँदो वैशाख ९ गते हुने भएको छ। कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको ४७ औँ बैठकको निर्णयानुसार आउँदो वैशाख ९ गते छैटौं वार्षिक साधारणसभा हुने भएको हो।
साधारणसभामा सामान्य प्रस्तावको रुपमा आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ असार मसान्तमा कायम चुक्ता पूँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम रु एक करोड ८४ लाख ८३ हजार ८९५ नगद लाभांश (नगद लाभांशमा लाग्ने करसमेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने छलफलको विषय रहेका छन्।
साधारणसभामा विशेष प्रस्तावको रुपमा कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रुपमा समेत कार्य गर्नको निम्ति कम्पनीको प्रबन्धपत्रमा उद्देश्यहरु थप तथा संशोधन गर्ने रहेको गरिमाले जनाएको छ।
त्यस्तै सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम वृद्धि गर्ने, प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावसमेत साधारणसभामा प्रस्तुत गरिने भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ चैत्र २०७८, ११ : ०८
लेखकबाट थप