प्रधानमन्त्री देउवाको भारत भ्रमण

पण्डित दीनदयाल उपाध्याय मार्गमा चुकेको कुटनीति

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, ०९ : १५
पण्डित दीनदयाल उपाध्याय मार्गमा चुकेको कुटनीति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणमा छन्। तर छिमेकी देशको औपचारिक भ्रमणमा प्रधानमन्त्री देउवाले अनौपचारिक मात्रै होइन प्रोटोकल विपरितको काम गरेका छन्। त्यो हो सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय भ्रमण।

शक्रबार नयाँ दिल्ली पुगेका देउवालाई भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। शुक्रबार नै उनी ‘सिक्स ए पण्डित दीनदयाल उपाध्याय मार्ग’ स्थित भाजपा कार्यालय पुगेक थिए। देउवाले शुक्रबार नै भारतीय विदेशमन्त्री एस. जयशंकरलाई आइसिटी मौर्य होटेलमा भेटेका छन्। मौर्य होटलमा भारत भ्रमणको समय देउवाको मुकाम रहेको छ। जयशंकरले भेटमा भ्रमणका एजेण्डाको विषयमा ब्रिफिङ गरेका थिए। 

प्रधानमन्त्रीको हैसियतमा भाजपाको कार्यालयमा प्रधानमन्त्री गएको सन्दर्भ कुटनीतिक क्षेत्रमा आलोचनाको विषय बनेको छ । देउवाको भारत भ्रमणमा अन्य विपक्षी दलका नेताहरुलाई भेट्ने कुनै कार्यक्रम छैन। नेपाली कांग्रेस, कांग्रेस आई, समाजवादी पार्टीहरुसँग नेपाली कांग्रेसको ७ दशकभन्दा पुरानो सम्बन्ध छ। तर देउवाले उनीहरुलाई वेवास्ता गर्दै हिन्दु कट्टरपन्थी भाजपासँग सम्बन्ध सुमधुर बनाउन खोजेको देखिन्छ। 

भाजपासँग सम्बन्ध सुधारका नाममा प्रोटोकल मिचिएको भन्दै नेपालमा आलोचना भइरहेको भए पनि भारतमा भने विपक्षीदेखि सत्तारुढ नेताहरुले पनि देउवाको भाजपा मुख्यालय भ्रमणलाई अर्थपूर्णरुपमा हेरेका छन्। भाजपा अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतले प्रधानमन्त्री देउवालाई मुख्यालयमा स्वागत गरेका थिए। प्रधानमन्त्री देउवा र भाजपा अध्यक्ष नड्डाबीच मुख्यालयमा बेग्लै छलफल पनि भएको थियो । पछि प्रतिनिधिमण्डलसँग उनले छलफल गरेका थिए।  

पाँचौं पटक प्रधानमन्त्री भएपछि अपेक्षितरुपमा देउवालाई भारतले विश्वास गरिरहेको थिए। प्रधानमन्त्री भएपछि पनि ढिलोगरी दक्षिणले बधाई दिएको थियो। भारत भ्रमणको निम्तो पनि देउवाले ढिलोगरी पाए। गत पुसमा नै भारत भ्रमणको तयारी गरिएको भए पनि कोरोनाका कारण उक्त भ्रमण रोकियो। यो बीचमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपाल भ्रमण गरे।

उनको भ्रमणको क्रममा देउवाले सम्धन्ध सुधारको प्रयास गरे। देउवा पत्नी आरजु राणाले बालुवाटारमा चौथाइवालेलाई राखीसमेत लगाइदिइन्। राजनीतिक मात्र नभएर देउवाले सांस्कृतिकरुपमा नै भाजपा र प्रधानमन्त्री मोदीसँग सम्बन्ध सुधारको प्रयास गरेका थिए। 

यसैको उच्चरुप भाजपा मुख्यालयको भ्रमण भएको जानकारहरुको मत छ। निर्वाचनको मुखमा हतार हतार गरिएको भ्रमण र भाजपा कार्यालयमा प्रोटोकल विपरित पुग्नु प्रधानमन्त्री मोदीलाई विश्वासमा लिने प्रयास भएको विश्लेषकहरुको भनाई छ।
 

प्रतिक्रिया दिनुहोस