प्रधानमन्त्री देउवा दिल्लीमा, भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, ०७ : ४३
प्रधानमन्त्री देउवा दिल्लीमा, भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता

काठमाडौं । तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँग त्यहाँका विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेट गरेका छन्। प्रधानमन्त्री देउवाले शुक्रबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मुख्यालय पनि भ्रमण गरे। देउवालाई भाजपा मुख्यालयमा राष्ट्रिय अध्यक्ष जगतप्रकाश नाड्डाले स्वागत गरेका थिए।

देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका हुन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई भारतका रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए।प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा विपक्षी दलका नेतालाई भेट्ने कार्यक्रम नराखेको तर सत्तारुढ भाजपाको मुख्यालय भ्रमण गरेको भन्दै कतिपयले आलोचना गरेका छन्। आलोचकले देउवाले भारतीय संस्थापनसँग अति भक्तिभाव प्रदर्शन गरेको आरोप लगाएका छन्।

एउटा स्वतन्त्र मुलुकको सरकार प्रमुखले छिमेकी मुलुकको भ्रमण गर्दा कुनै एउटा पार्टी विशेषलाई महत्व दिनु कूटनीतिसम्मत नहुने जानकार बताउँछन् । छिमेकी मुलुकसँग राजनीतिक हिसाबले भन्दा पनि कूटनीतिक हिसाबले सम्बन्ध सुदृढ गर्नुपर्ने जानकार बताउँछन्।

प्रधानमन्त्री देउवाले भारत भ्रमणमा निस्किनुअघि मुलुकको प्रमुख विपक्षी दल र पूर्वप्रधानमन्त्रीहरूसँग पनि छलफल गरेका थिएनन्। सामान्यतया सरकार प्रमुखले औपचारिक विदेश भ्रमण गर्दा कस्ता अजेन्डामा छलफल गर्ने वा केकस्ता सहमति र सम्झौता गर्ने भन्नेबारे पूर्वप्रधानमन्त्रीहरू, प्रमुख विपक्षी दल र विज्ञहरूसँग छलफल गर्ने प्रचलन हुन्छ। तर देउवाले यसपालि यस किसिमका कुनै छलफल गरेनन्। देउवाको यस्तो व्यवहारको प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताले पनि आलोचना गरेका छन्।

भारत भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। देउवा र मोदीबीच बिहान ११ः१० बजे प्रतिनिधिमण्डलस्तरीय कुराकानी हुनेछ।

प्रतिक्रिया दिनुहोस