बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा

सफल खबर संवाददाता

शुक्रबार, १८ चैत्र २०७८, १० : ५०
बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा

 काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका टाइमकार्ड हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । “मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशासनको अनुरोधमा चैते दशैंसम्मका लागि समय तालिका हटाएका हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर, वडा नं २ नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिर खण्डमा बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म सडकमा यातायात आवतजावत बन्द गरेर बिस्तार र निर्माणको काम गर्न समय तालिका बनाइएको थियो । विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङका छ खण्डमा निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ ।  

प्रतिक्रिया दिनुहोस