शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पो हुने, ५० हजारले अवलोकन गर्ने

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १६ : ४९
शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पो हुने, ५० हजारले अवलोकन गर्ने

काठमाडौं ।  शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पो २०२२ सुरु हुने भएको छ।स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (आइपान)ले तेस्रो संस्करणको एक्स्पो भृकुटीमण्डपमामा गर्न लागेको हो। राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने एक्स्पो तीन दिसम्म चल्ने आइपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।एक्स्पोका अवसरमा शनिबार बिहान बिद्युतीय सवारी साधनको ¥यालीको आयोजना गरिएको छ। भृकुटीमण्डपबाट सुरु हुने ¥याली नेपालकै पहिलो जलविद्युत आयोजना फपिंडसम्म पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुनेछ आचार्यले जानकारी दिए।

फपिंड जलविद्युतमा पर्यटनमन्त्री प्रेम आलेले सहभागीहरुलाई स्वागन गर्नेछन्। ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको प्रर्दशनीमा नेपालमा उत्पादित बिजुलीको आन्तरिक स्वपतमा बृद्धि गर्न र विदेशमा निर्यातका लागि ज्ञान र सूचनाको सम्प्रेषण हुने आयोजक आइपानका अध्यक्ष आचार्यले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले भने, ‘एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावर सम्बन्धी विषयगत ६ वटा भन्दा बढी टेक्निकल सेसन संचालन तथा अन्तरक्रिया सन्चालन गरिने कार्यक्रम तय गरेका छौँ।’एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकरवित्त कम्पनीले सयभन्दा बढी स्टल बुकिङ गरेका छन्।

प्रर्दशनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने आयोजकले जनाएको छ।प्रर्दशनीमा नयाँ प्रविधिका साथै हाइड्रो पावरमा रोबोटर्सको भूमिकाबारे जानकारी गराइनेछ भने विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ।

प्रर्दशनीको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड रहेको छ भने आइएफसीलगायतका संघ संस्थाहरुले प्रायोजन गरेका छन्। एक्स्पोमा नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा वेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर छन्।

नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल निर्माण व्यवसायी महासंघले पनि प्रर्दशनीलाई सहयोग गर्ने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस