पसल सिल गरेको विरोधमा बिर्तामोडका व्यवसायी आन्दोलित

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १६ : ३०
पसल सिल गरेको विरोधमा बिर्तामोडका व्यवसायी आन्दोलित

काठमाडौं । राजश्व अनुसन्धान कार्यालय इटहरीको ज्यादतीविरुद्ध बिर्तामोडका व्यवसायी आन्दोलित बनेका छन्।  बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलित बनेका व्यवसायीहरूले बिहीबार दिउँसो पूर्व–पश्चिम राजमार्ग एकतर्फी अवरुद्ध गरेका छन्।

सडकमा उत्रिएका व्यवसायीहरुले बिर्तामोडको मुक्ति चोकमा सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्धका कारण यातायात ठप्प बनेको छ। घटना विवरणअनुसार राजश्व अनुसन्धान कार्यालयबाट खटिएका कर्मचारीको टोलीले बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको लालबाबु साहको साह कपडा पसल शिल गरेको छ। पसलमा सञ्चालक साह नभएको बेला राजश्वका कर्मचारीले मुचुल्कामा उनका परिवारजनलाई हस्ताक्षर गराएर पसल सिल गरेको बताइएको छ।

राजश्वका कर्मचारीले के कारणले पसल सिल गरेको भनी बुझ्न जाँदा कर्मचारी टोली त्यहाँबाट भागेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले बताए।राजश्वका कर्मचारी भागेको कुराले आशङ्का उब्जिएको बताउँदै महासचिव मैनालीले भने, ‘राजश्व कर्मचारीको ज्यादतीविरुद्ध वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरूले स्वतफुर्त सडक अवरुद्ध गरेको हो।’ 

राजश्वका कर्मचारी टोली बुधबार बेलुका मात्र साह पसलमा पुगेर सात दिनभित्र खातापाता लिएर राजश्व कार्यालय आउनु भनी गएको रहेछ।‘आज फेरि आएर एक्कासि पसल सिल गर्नुपर्ने कुनै कारण नै छैन,’ मैनालीले भने। राजश्वले व्यापारीलाई मानिसक तनाव दिन खोजिएकोले सिल गरिएको पसल तत्काल खोल्नुपर्ने, कर्मचारीलाई कारबाही गर्नुपर्ने र यस बारेमा वाणिज्य संघका प्रतिनिधिसँग सम्बन्धित निकायले तत्काल छलफल गर्नुपर्ने माग अघि सारिएको उनले बताए। माग सम्बोधन नभएसम्म सडक नखोल्ने उनको भनाइ छ।

यता, घटनाको विषयमा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको ध्यानाकर्षण भएको छ। यस बारेमा प्रशासन कार्यालय झापामा सुरक्षा निकायसँग छलफल भइरहेको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस