सगरमाथामा पुग्यो आठ नेपाली शेर्पा समुह

पत्रपत्रिकाबाट

सोमबार, ३१ बैशाख २०७५, ०७ : ३०
सगरमाथामा पुग्यो आठ नेपाली शेर्पा समुह


 यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियानअन्तर्गत आठ जना नेपाली (शेर्पा) को समूह आइतबार दिउँसो बाटो बनाउँदै चुचुरोमा पुगेको छ । सगरमाथा आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस सिजनमा चुचुरोमा पुग्ने यो पहिलो टोली हो ।

‘आज (आइतबार) दिउँसो साढे तीन बजे आठ जना नेपाली गाइडको टोली चुचुरोमा पुगेर फर्किंदै छ,’ सम्पर्क अधिकृत श्रेष्ठले आधार शिविरबाट आइतबार दिउँसो कान्तिपुरसँग भने। उनका अनुसार चुचुरोमा पुग्नेमा पासाङ तेन्जिङ शेर्पा, पासदाबा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जेनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा र दातुक भोटे छन्।

यी सबै काठमाडौंस्थित हिमालयन गाइड्स नेपालका हाई अल्टिच्युड शेर्पा गाइड हुन्। कम्पनीका महाप्रबन्धक ईश्वरी पौडेलका अनुसार यसपटक सगरमाथासम्म उक्लिने बाटो खोल्ने जिम्मा हिमालय गाइड्सले पाएको थियो। अघिल्ला वर्ष आरोही लगेर आधार शिविर पुगेको आरोहण दलका हाई अल्टिच्युड गाइडहरूले मिलेर बाटो बनाउँथे तर यसपटक आरोहण सञ्चालन गर्नेहरूको संस्था ‘एक्सपिडिसन अपरेटर्स एसोसिएसन’ ले हिमालयन गाइड्सलाई बाटो बनाउने जिम्मा दिएको थियो।, यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस