नेपाल बैंकले देशभर मनायो ‘ग्लोबल मनी विक’

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, ११ : ०४
नेपाल बैंकले देशभर मनायो ‘ग्लोबल मनी विक’

 

काठमाडौँ  । नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक भव्य रुपमा सम्पन्न गरेको छ। बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्‍याउने र हरेक वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

ग्लोबल मनी विक २०२२ को थिम ‘बिल्ड योर फ्युचर, वि स्मार्ट अबाउट मनी’ र ‘ग्लोबल मनी विक’को स्थायी नारा ‘लर्न सेभ अर्न’ लाई सार्थक बनाउने प्रयासस्वरुप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ। बैंकका सात वटै प्रदेशअन्तर्गतका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमीलगायत समाजका विभिन्न वर्गका व्यक्तिहरु लाभान्वित हुने गरी विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएका छन्।

बाग्मती प्रदेशअन्तर्गत १७, लुम्विनीमा २५, प्रदेश नं १ मा २३, मधेसमा १९, सुदूरपश्चिम र कर्णालीअन्तर्गत ३–३ वटा शाखामा गरी कूल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको र ती कार्यक्रमहरुमा करिब ५ हजार सहभागी रहेको नेपाल बैंकले जनाएको छ। बैंकले यस आर्थिक वर्षको योजना तथा कार्यक्रममै वित्तीय साक्षरतालाई विशेष जोड दिएको र सोहीअनुरुप वित्तीय साक्षरता अभियान यो वर्षभरि नै सञ्चालन हुने बैंकले जनाएको छ।

हालसम्म बैंकले आफ्ना १६० शाखाबाट करिब १५ हजारलाई वित्तीय साक्षरता प्रदान गरिसकेको छ। बैंकले नेपालभर २१३ शाखा, १५० एटीएमका साथै ५० वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस