इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १६ : ०३
इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं   पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याए । तल्लो सदन नेसनल एसेम्बलीमा विपक्षी नेता शहबाज शरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । उनको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् ।

‘यस सदनको विश्वास गुमाएपछि प्रधानमन्त्री पदमा रहनुहुन्न’ अविश्वास प्रस्तावमाथि बोल्दै शरिफले भने ।विपक्षी सांसदहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले खानको गठबन्धनका साझेदारहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । सत्ता गठबन्धनका केही सदस्यहरू खानको विपक्षमा उभिन सक्ने चर्चा समेत रहेको पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

३ सय ४२ सिट रहेको तल्लो सदनमा खान सरकारलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले जनाएका छन् । अविश्वासको प्रस्तावमाथि बिहीबारबाट बहस सुरु हुने र सात दिनभित्र मतदान हुने डनले जनाएको छ । पछिल्लो घटनाक्रमलाई पूर्व क्रिकेटर समेत रहेका इमरान खानको राजनीतिक जीवनको सबैभन्दा कठिन चुनौतीका रुपमा हेरिएको छ । 

राजनीतिक संकटबीच आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने भए त्यसअघि नै खानले पदबाट राजीनामा दिन सक्ने चर्चा समेत रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।यद्यपि, खानले भने आफू नेतृत्वको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी र अन्य राजनीतिक दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव विफल पार्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस