विवेकशील साझा पार्टी कार्यालयमा तनाव , असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरेपछि मिश्र पक्षले गर्यो अवरोध

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १३ : ०६
विवेकशील साझा पार्टी कार्यालयमा तनाव , असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरेपछि मिश्र पक्षले गर्यो अवरोध

काठमाडौं । विवेकशील साझा पार्टीको कार्यालय बखुण्डोलमा ​असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरेपछि रवीन्द्र मिश्र पक्षले अवरोध गरेको छ । कार्यालय परिसरमा पत्रकार सम्मेलन सुरु हुदै गर्दा मिश्र पक्षले नाराबाजीसहित अवरोध गरेको हो । त्यसक्रममा तैनाथ सुरक्षाकर्मीले सो पार्टीका नेता कार्यकर्तालाई बाहिर निकालेको छ । मिश्र पक्षले गुटको भेला गर्न पाइँदैन भन्दै चर्को नाराबाजी गरेको थियो भने सो क्रममा असन्तुष्ट पक्षले पनि संस्थापनविरुद्ध नाराबाजी गरेको थियो । 

सो पार्टीका निर्देश सिलवाल नेतृत्वको समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो समुहले रवीन्द्र मिश्रविरुद्ध पत्रकार सम्मेलन गर्न लागेको भन्दै मिश्र पक्षले पत्रकार सम्मेलनमा अवरोध गरेको हो ।

यसैबीच मिश्र समुहका नेता तथा प्रवक्ता शरदराज पाठकले पार्टीका केही अराजक तत्वहरुले मुठभेट निम्त्याएको बताएका छन् । ‘उहाँहरुले केही दिन अघि पनि अध्यक्षविरुद्ध विभिन्न षडयन्त्र गर्नुभएको थियो, आज पनि त्यसैलाई निरन्तरता दिने प्रयास भयो’, उनले भने बाहिरका मानिसहरु ल्याएर तर्साउने र धम्क्याउने प्रयास भयो  ।’

उनले असन्तुष्टि र मतभेद रहे कानूनी प्रक्रियाबाट समाधान गर्न सकिने बताएका छन् ।  उनले विवेकशील पार्टी बैकल्पिक शक्ति रहेको भन्दै यसबाट यस्ता क्रियाकलापबाट विचलित नहुने बताए ।

प्रतिक्रिया दिनुहोस