घोडा जात्राले सर्‍यो हाइड्रो एक्स्पोः अब चैत १९ देखि २१ सम्म हुने

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १२ : ३२
घोडा जात्राले सर्‍यो हाइड्रो एक्स्पोः अब चैत १९ देखि २१ सम्म हुने

काठमाडौँ । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ देखि २१ गतेसम्म हुने भएको छ। यसअघि चैत १८ देखि २० गतेसम्म हुने भनिएको एक्स्पो घोडेजात्राका कारण १ दिन सारिएको आयोजकले जनाएको छ।

चैत १८ गते घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै एक दिन ढिला गरी एक्स्पो सुरु गर्न लागिएको हो।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना गर्न लागिएको छ।

एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले पूर्व निर्धारित कार्यक्रमलाई घोडेजात्राका कारण असर पर्न सक्ने भएकाले चैत १९ गते शनिबारदेखि सुरु गर्न लागिएको जानकारी दिए।एक्स्पोमा सहभागी हुने सबै पक्षहरुलाई चैत १९ का लागि तयारी तथा व्यवस्थापन गर्न पनि प्रधानले आग्रह गरेका छन्।

नेपालस्थित भारतीय दूतावासको समन्वय तथा बेलायती दूतावास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर रहने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन्। जलविद्युत प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन्। जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकले जनाएको छ।

हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रोसम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामुनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो।
तीनदिनसम्म चल्ने एक्स्पोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस