काठमाडौँ । पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो ।
लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरे ।
सो अवसरमा मन्त्री घर्तीले ढाका कपडाको राजधानीका रूपमा विकास गरिएपछि यसको कारोबार बढ्ने जनाउनुहँुदै महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । यस कार्यमा महिलाको संलग्नता बढ्दो रहेकाले परनिर्भरता हट्ने र धेरैलाई स्वरोजगार बनाउने उनको भनाइ छ ।
सहसचिव दुवाडीले ढाकाको राजधानी बनेको पाल्पा अब यहाँ अवसर र चुनौतीसमेत थपिएकाले उद्यमीको सीप विकास र उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
तानसेन नगर प्रमुख अशोककुमार शाहीले सीप र युकेएडसँगको सहकार्यमा नगरपालिकामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी जिल्लालाई ढाकाको राजधानी घोषणा गर्न सफल भएको जानकारी दिए । सङ्घका अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाममा बाहिर उत्पादन भएका ढाकाको व्यापारले ग्राहक र व्यापारी समस्यामा परेपछि जिल्लाको छुट्टै पहिचान बनाउन ब्राण्डिङ बनाएर बजारमा पठाउन थालिएको जानकारी दिए ।
“ग्राहकको आँखा छल्न बाहिर उत्पादन भएका ढाका कपडामा पाल्पाको ट्याग लगाएर बेच्ने कार्यले पाल्पाली ढाका कपडाको बदनाम गराउने कार्य भयो, अब ब्राण्डिङ बनाएर बजार पठाएपछि ढाकाबाट कोही ठगिने छैन”, उनले भने ।
गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्राण्ड बनाएर बजारमा ल्याइएको जनाइएको छ । बाहिरबाट भित्रिएका ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा ल्याउँदा ग्राहक उत्साहित बनेका छन् ।
तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेपछि उपभोक्ता र यहाँका ढाका व्यापारी मारमा परिरहेका थिए ।
पाल्पाली ढाकाको विविधिकरण गरी धेरै किसिमका वस्तु निर्माण भएका छन् । सजावटका सामग्रीदेखि पाल्पाली ढाका अहिले पर्स, टाइ, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामग्रीसमेत निर्माण हुन थालेको छ । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा अन्यत्र लैजाने गर्छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ चैत्र २०७८, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध