वाम वर्चश्व

चितवनमा सबै ठाउँ वाम गठबन्धनलाई अग्रता

शुक्रबार, २२ मंसिर २०७४, २० : ३७
चितवनमा सबै ठाउँ वाम गठबन्धनलाई अग्रता

भरतपुर । दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत बिहीबार मतदान भएको चितवनमा शुक्रबार दिउँसोदेखि मतगणना कार्य सुरु भएको छ । शुक्रबार राति अबेरसम्मको मतगणना परिणाम अनुसार वाम गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।

प्राप्त पछिल्लो मतगणना परिणाम अनुसार, प्रतिनिधि सभाको तीन पद र प्रदेश सभाको ६ पद सबै ठाउँमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् । प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नम्बर एकमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले सात सय ३६ मत र नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले चार सय ७१ मत प्राप्त गर्नु भएको छ ।

क्षेत्र नम्बर दुईमा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले एक हजार चार सय ३३ मत र नेपाली काँग्रेसका उम्मेदवार शेषनाथ अधिकारीले ६ सय ४८ मत प्राप्त गर्नु भएको छ । यसैगरी निकै चर्चामा रहेको चितवन क्षेत्र नम्बर तीनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले एक हजार तीन मत र राप्रपा (प्रजातान्त्रिक) का उम्मेदवार बिक्रम पाण्डेले नौ सय ८० मत प्राप्त गर्नु भएको छ ।

प्रदेश सभातर्फ क्षेत्र नम्बर एकको ‘क’ तर्फ नेकपा एमालेका दावा दोर्जे लामाले ६ सय ४५ मत र नेपाली काँग्रेसका धनबहादुर गुरुङले पाँच सय ७२ मत प्राप्त गर्नु भएको छ । क्षेत्र नम्बर एकको ‘ख’ तर्फ नेकपा एमालेका कृष्णप्रसाद खनालले सात सय ६ मत र नेपाली काँग्रेसका उत्तम आचार्यले ६ सय ९१ मत प्राप्त गर्नु भएको छ ।

क्षेत्र नम्बर दुईको ‘क’ तर्फ नेकपा माओवादी केन्द्रका घनश्याम दाहालले एक हजार दुई सय ८१ मत र नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ६ सय ९७ मत प्राप्त गर्नु भएको छ । क्षेत्र नम्बर दुईको ‘ख’ तर्फ नेकपा एमालेका विजय सुवेदीले एक हजार ६ सय ५८ मत र नेपाली काँग्रेसका प्रकाश अधिकारीले सात सय चार मत प्राप्त गर्नु भएको छ ।

क्षेत्र नम्बर तीनको ‘क’ तर्फ नेकपा एमालेका कृष्ण भूर्तेलले एक हजार तीन सय ८५ मत र नेपाली काँग्रेसका दिनेश कोइरालाले एक हजार दुई सय ६३ मत प्राप्त गर्नु भएको छ । क्षेत्र नम्बर दुईको ‘ख’ तर्फ नेकपा माओवादी केन्द्रका रामलाल महतोले सात सय ३० मत र नेपाली काँग्रेसका साजन महतोले चार सय ५९ मत प्राप्त गर्नु भएको छ ।

कूल मतदाता संख्या तीन लाख ५४ हजार ३६ रहेकोमा कूल ९३ हजार आठ सय २६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चितवनमा ७४ दशमलव पाँच प्रतिशत मतदान भएको छ ।

निर्वाचन क्षेत्र नम्बर एकमा एक लाख १९ हजार ९ सय ९८ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर दुईमा एक लाख आठ हजार दुई सय १९ र क्षेत्र नम्बर तीनमा एक लाख २५ हजार ८ सय १९ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस