नेपाली सेनाले चैत ९ गतेदेखि ‘भूतपूर्व सैनिक सम्मेलन’ सुरु गर्ने

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, ११ : १५
नेपाली सेनाले चैत ९ गतेदेखि ‘भूतपूर्व सैनिक सम्मेलन’ सुरु गर्ने

काठमाडौं । नेपाली सेनाले यही चैत ९ गतेदेखि दिपायलबाट ‘भूतपूर्व सैनिक सम्मेलन’ सुरु गर्ने भएको छ ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो पटक ‘भूतपूर्व सैनिक सम्मेलन’ हुन लागेको हो । प्रत्येक प्रधानसेनापतिले आफ्नो ३ वर्षे कार्यकालमा कम्तिमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ ।

सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वय एवं संयोजकत्वमा हुने यसपटकको पहिलो ‘सम्मेलन र स्वास्थ्य शिविर’ को प्रधानसेनापति शर्माले दिपायलस्थित ५ नम्बर बाहिनी अड्डामा उद्घाटन गर्नुहुनेछ । धनगढीस्थित भवानी दल गणमा चैत १०, सुर्खेतस्थित पश्चिम कमाण्डमा चैत २० र चैत २१ गते नेपालगञ्जस्थित चार नम्बर बाहिनी अड्डामा चौथो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन २०७८’ हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलनकै क्रममा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्य उपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियत दरमा उपलब्ध गराईने रकमको चेक हस्तान्तरण समेत हुनेछ ।

लघुवित्तका सर्वाेत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई नगद पुरष्कार, ज्येष्ठ भूपूसैनिक र एकलको सम्मान तथा अशक्तलाई सम्मेलनमा ह्वीलचियर प्रदान गरिने नेपाली सेना कल्याणकारी बोर्डले जनाएको छ ।