जी ७ देशले दिए रुसलाई चेतावनी, युक्रेनको सहायताका लागि कार्य योजना बनाउँदै

एजेन्सी

शुक्रबार, ०४ चैत्र २०७८, १६ : ४५
जी ७ देशले दिए रुसलाई चेतावनी, युक्रेनको सहायताका लागि कार्य योजना बनाउँदै

एजेन्सी । विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जी ७ का विदेश मन्त्रीहरुको बैठकले युक्रेनमाथि आक्रमण गरेको रुस विरुद्ध कठोर नीति अपनाउने चेतावनी दिएका छन् ।

भिडियो कन्फ्रेन्स मार्फत भएको जी ७ देशका परराष्ट्र मन्त्रीहरुको बैठकले रुसलाई चेतावनी दिइएको हो । युक्रेनमा भएको युद्ध अपराधका दोषी कसैलाई पनि नछोड्ने विदेशमन्त्रीहरुको चेतावनी छ । विदेशमन्त्रीहरुले युक्रेनका सर्वसाधारण नागरिक,अस्पताल, विद्यालय र पूर्वाधारहरुमा आक्रमण रोक्न र सैन्य बलहरू तुरुन्तै फिर्ता लिन अन्तर्राष्ट्रिय न्यायालयको आदेशलाई रुसले तुरुन्तै पालना गर्नु पर्ने माग समेत गरेका छन् । बैठकले अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवअधिकार कानून अन्तर्गत आफ्नो दायित्व पूरा रुसलाई आग्रह समेत गरेको छ । युक्रेनलाई सहयोग गर्न कार्ययाजना बनाउँदै गरेको पनि विदेशमन्त्रीहरुले बताएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार २३ दिन पुगेको छ । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले युक्रेन युद्ध अझै रोको छैनन् । कुनै कारणबीना रुसले युक्रेनमाथि गरेको आक्रमण अस्वीकार्य रहेको पनि विदेश मन्त्रीहरुको निष्कर्ष छ । रुसमाथि थप कडा प्रतिबन्ध लगाउने जी ७ राष्ट्रहरुको तयारी छ । जी ७ मा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका सदस्य रहेका छन् ।

रुसले युक्रेनमाथि गरेको हमलाका कारण युक्रेनी नागरिकको अवस्था दयनीय बन्दै गएको छ । पानी,बिजुली खाद्यान्न ग्याँस जस्ता उपभोग्य बस्तुहरुको अभाव भएको छ । युद्धका कारण युक्रेनी नागरिकको परिवार छिन्न भिन्न भएको छ । को कतिबेला रुसी आक्रमणका कारण मरिने हो भन्ने त्रास युक्रेनी नागरिकमा छ ।

अहिलेसम्म झण्डै २५ लाख बढीले युद्धबाट जोगिन युक्रेन छोडेका छन् । उनीहरुमध्ये धेरैको घर सम्पत्ति रुसी सेनाले आक्रमणबाट नष्ट पारिदिएको छ । रुसी आक्रमणबाट सयौं निर्दाेश युक्रेनी नागरिकको ज्यान गएको छ ।