लयमा फर्किदै पर्यटन क्षेत्र

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, १५ : ०५
लयमा फर्किदै पर्यटन क्षेत्र

काठमाडौं ।  कोरोनाले दुई वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्कन सुरु गरेको छ। अन्य क्षेत्रहरूमा झैँ पर्वतारोहण क्षेत्रमा विस्तारै आरोहीको चहलपहल शुरु भएको छ।

पछिल्लो समय अधिकांश आरोहीहरूको रोजाइमा म्याग्दीमा रहेको धौलागिरी हिमाल पर्न थालेको छ। कोरोनाको संक्रमणदर कम भएको र  हिमाल आरोहणको सिजन पनि शुरु भएसँगै म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८,१६७ मि.) आरोहणका लागि १३ जना विदेशी आरोही सहितको टोली बेस क्याम्पतर्फ प्रस्थान गरेको छ। इमेजिङ नेपाल नामक ट्रेकिङ संस्थामार्फत विभिन्न देशबाट १३ जना हिमाल आरोहणका लागि म्याग्दीमा आएको पर्यटन व्यवसायी एवं सामान ढुवानीकर्ता इन्द्रसिंह शेरचनले जानकारी दिए।

‘सिजनकै सुरुमा यो राम्रो संकेत हो, कोरोनाका बीचमा पनि आरोही आउन थालेका छन्, अहिले हेलिकप्टरबाट समान ढुवानी भइरहेको छ’, शेरचनले भने। पश्चिम म्याग्दीको ताकमबाट सामान ढुवानी गर्ने र आरोहीमध्ये अधिकांश पैदलमार्ग हुँदै बेसक्याम्प पुग्ने गरेका छन्।

धौलागिरी हिमाल रघुगंगा गाउँपालिकाको सिमानासँग समेत जोडिए पनि आरोहीको सिधा रुट नै मुदी लगायत आसपासका क्षेत्र हुँदै बेसक्याम्प नै पुग्ने गर्दछन्।
छिमेकी जिल्ला मुस्ताङबाट समेत हिमालमा पुग्ने गरिए पनि आरोहणका लागि पश्चिम म्याग्दी हुँदै आधार शिविरमा सजिलो रुट पर्छ। 

सन् १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेयाली नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धौलागिरी आरोहण गरेका थिए। कोरोनाको पहिलो, दोस्रो लहरले थला परेको हिमाल आरोहणमा पुनः आरोहीको चहलपहलले पर्यटन व्यवसायी समेत उत्साहित भएका छन्। ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण हिमाल कालिगण्डकी गल्छीको वारिपारि रहेकाले पनि पर्यटकलाई अवलोकन तथा आरोहणको रोजाइमा पर्छन्। म्याग्दीमा रहेको हिमालको रोयल्टीको हिस्सा भने मुस्किलले म्याग्दीमा आउँछ। आरोहीले पर्यटन विभागमा आरोहण अनुमति लिँदा नै आरोहणबापतको रोयल्टी तिर्नुपर्ने हुन्छ। 

त्यस्तै उत्तरी म्याग्दीमा अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्ण हिमाल अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन्। त्यस्तै धवलागिरी गाउँपालिकामा रहेको गुर्जा र चुरेन हिमालका लागि पर्यटकले गर्ने खर्च समेत ठूलो भए पनि जिल्लामा त्यसको फाइदा पुग्न सकेको छैन।  

प्रतिक्रिया दिनुहोस