युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरुको उद्धार

सफल खबर संवाददाता

विहीबार, २६ फागुन २०७८, ०८ : ०२
युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरुको उद्धार

file Photo

काठमाडौं ।  रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरुको उद्धार कार्य सम्पन्न भएको छ ।   प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै  जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाए ।

खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीहरुको ज्यान सुरक्षित रहेको बताए  । उनले उद्धारको कार्य सम्पन्न भए पछि उनीहरुको पुर्नस्थापना गर्ने कार्य चुनौती पूर्ण रहेको बताए । 

युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् ।   पछिल्लो तथ्यांक  अनुसार हाल सम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् । हाल सम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका हुन् ।  

राजदुत खड्का अनुसार ३ जना नेपालीहरुलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ। उनीहरु भारतको नयाँ डिल्ली हुदै नेपाल जाने तयारीमा छन् ।  युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ। 

करिब ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थायी बसोबास गर्दे आएकाले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमै रहेका छन् ।