माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

सफल खबर संवाददाता

आइतबार, २२ फागुन २०७८, १२ : ४६
माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो २ बजेलाई सारिँदा पनि गृहकार्य नपुगेको भन्दै भोली बस्ने भएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)का अनुसार आजै बस्ने संसद् बैठकमा पनि सहभागी हुनुपर्ने र पदाधिकारी चयनमा टुंगो लाग्न नसकेपछि थप 'गृहकार्य' गर्नेगरी सोमबार बिहान ११ बजे बस्ने गरी बैठक सारिएको हाे । 

माओवादी केन्द्रभित्र केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा सहमति जुटाउन सकस परेको छ । गत पुस  १८  गते  सम्पन्न  माओवादीको  आठौँ  महाधिवेशनले  २३६ केन्द्रीय  सदस्य चयन गरेर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो । त्यसपछि पुस   १९   गतेको   केन्द्रीय समितिको पहिलो  बैठकले पुष्पकमल  दाहाल प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । अन्य पदाधिकारी हालसम्म चयन भएका छैनन् ।

साथै, अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदनमा पार्टी संलग्न भएपछि माओवादी केन्द्रभित्र मतभेद चर्किएको छ । शुक्रबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा नेता नारायणकाजी श्रेष्ठसँगै देव गुरुङ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति नै पेस गरेका थिए । 

प्रतिक्रिया दिनुहोस