संसदको अवरोध अन्त्य गर्न एमालेलाई सत्तारुढ गठबन्धनको आग्रह

आ–आफ्नो दलमा छलफल गरेर चुनावी तालमेलबारे निर्णय लिने

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १२ : ११
संसदको अवरोध अन्त्य गर्न एमालेलाई सत्तारुढ गठबन्धनको आग्रह

काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ ।

चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो ।

लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका छौं ।’

यस्तै गठबन्धनले आगामी स्थानीय तहको चुनावमा तालमेलको लागि आ–आफ्नो दलभित्र छलफल गरेर मात्रै निर्णय लिने भएको छ ।  सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका शीर्ष नेताहरुबीच भएको छलफलले यस्तो निर्णय गरेको कांग्रेस नेता तथा सत्ता गठबन्धन राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ । पौडेल बैठकमा सहभागी थिए ।  

चुनावी तालमेलबारे पहिला आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनको बैठकबाट निर्णय लिने गरी आजको बैठक सकिएको छ । आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेलाई संसद अवरोध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । 

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की , कांग्रेस नेता पौडेल , माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस