भीम रावलको प्रतिक्रिया : पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी हुन्थे'

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, ११ : ३९
भीम रावलको प्रतिक्रिया : पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी हुन्थे'

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप अमेरिकी सहयोगको एमसीसी सम्झौताविरुद्ध उभिएको बताएका छन् ।बुधवार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रावलले एमसीसी सम्झौताबारे पार्टीले स्पष्ट धारणा बनाएर राष्ट्र हितको पक्षमा उभिन निर्देशित गरेको जनाएका छन् ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले नेता रावल पार्टीको निति विपरित अभिव्यक्ति दिएपछि रावलले आफू पार्टी सिद्धान्तअनुरूप उभिएको जनाएका छन् ।

रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसँगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ । संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो । म पार्टी सिद्धान्त अनुरूप उभिएको छु । राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरूप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया !’

प्रतिक्रिया दिनुहोस