नेपाल राष्ट्रसंघको मानवअधिकार परिषद्‍मा  युक्रेनको पक्षमा

एजेन्सी

मंगलबार, १७ फागुन २०७८, १२ : २३
नेपाल राष्ट्रसंघको मानवअधिकार परिषद्‍मा  युक्रेनको पक्षमा

काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले युक्रेनलाई साथ दिएको छ । स्वीट्जरल्याण्डको जेनेभास्थित परिषद्को कार्यालयमा स्थानीय समयअनुसार सोमबार भएको मतदानमा नेपालले युक्रेनको समर्थन गरेको हो । परिषदले सोमबार ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’ प्रस्तावमा छलफल गर्न आपत्कालिन बैठक बोलाएको थियो । 

बैठकमा उक्त विषयमा छलफल गराउने वा नगराउने भन्ने विषयमा मतदान भएको थियो । मतदानमा परिषद्का ४७ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षका २९, विपक्षमा ५ र तटस्थ १३ राष्ट्र बसेका थिए । नेपालका दुई ठूला शक्तिशाली छिमेकी भारत तटस्थ र चीन विपक्षका उभिएका बेला नेपालले युक्रेनको पक्षमा खुलेर मतदान गरेको हो । 


प्रस्तावको पक्षमा मतदान गर्ने २९ राष्ट्रमा नेपाल, अर्जेन्टिना, बेनिन, बोलिभिया, ब्राजिल, आइभेरीकोस्ट, फिनल्याण्ड, फ्रान्स, जर्मनी, गाम्बिया, होन्डुरस, इन्डोनेसिया, जापान, लिथुवानिया, लिबिया, लक्जेम्बर्ग, मलावी, मलेसिया, मार्सेला आइल्याण्ड, मेक्सिको, मोन्टेनिग्रो, नेदरल्याण्ड्स, पराग्वे, पोल्याण्ड, कतार, दक्षिण कोरिया, बेलायत, अमेरिका र युक्रेन रहेका छन् । 


मतदानमा चीन, क्युबा, इरिट्रिया, रुस र भेनेजुयलाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । मतदानमा तटस्थ बस्ने वा सहभागी नहुने १३ राष्ट्रमा अर्मेनिया, क्यामरुन, गाबोन, भारत, कजाकास्तान, मौरिटनिया, नामिबिया, पाकिस्तान, सेनेगल, सोमालिया, सुडान, युनाइटेड अरब इमिरेट्स र उज्वेकिस्तान रहेका छन् । 


प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेपछि अब राष्ट्रसंघको मानवअधिकार परिषदमा ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’ सम्बन्धमा बहस हुनेछ । रुसले युक्रेनमाथि गरेको आक्रमणको यसअघि नै विज्ञप्ति जारी गर्दै विरोध जनाइसकेको छ । नेपालले रुसलाई राष्ट्रसंघको बडापत्रको पालना गर्न समेत आग्रह गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस