नवलपुरमा तेस्रो देवचुली महोत्सव सुरु

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, १४ : ०५
नवलपुरमा तेस्रो देवचुली महोत्सव सुरु

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकाको प्रगतिनगरमा आजदेखि देवचुली महोत्सव सुरु हुँदैछ । तेस्रो संस्करणको देवचुली महोत्सव देवचुली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको हो । 

सङ्घका अध्यक्ष एवं महोत्सव मूलसमितिका संयोजक रेशमलाल सापकोटाले कोरोना महामारीका कारण थला परेको व्यापार, व्यवसाय, पर्यटनलगायतका क्षेत्रको प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने बताए । एक सय व्यावसायिक कक्ष रहने महोत्सव परिसरमा कृषिका प्रवद्र्धनात्मक र विभिन्न सार्वजनिक जनचेतनामूलक, सूचनामूलक र सन्देशमूलक २५ निःशुल्क कक्ष रहने सापकोटाले जानकारी दिए । 

महोत्सवमा व्यापारिक कक्षसहित बाल उद्यान, कलात्मक सेल्फी जोन लगायत रहने भन्दै अध्यक्ष सापकोटाले करिब एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने बताए । महोत्सव परिसरभित्रै स्थानीय प्रतिभा उजागर र पहिचानको उद्देश्यका साथ विद्यालयस्तरीय नृत्य तथा गायन प्रतियोगिता, आमा समूहबीचको डोरी तान्ने प्रतियोगिता र भलिबल प्रतियोगिता हुने सापकोटाको भनाइ छ । 

महोत्सव अवलोकन गर्न रु १०० टिकट शुल्क निर्धारण गरिएको भन्दै सापकोटाले ज्येष्ठ नागरिक र रातो परिचयपत्रबाहक अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको सुविधा रहेको जानकारी दिए । त्यस्तै विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकट शुल्कमा ५० प्रतिशत सहुलियत दिइनेछ । आज उद्घाटन हुने महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस