यस वर्षको दोस्रो सिकारयाम  ढोरपाटनमा सुरु

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, १० : ३७
यस वर्षको दोस्रो सिकारयाम  ढोरपाटनमा  सुरु

काठमाडौं । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ।प्रतिस्पर्धाबाट सिकार गराउन विभागले  दरभाउपत्र आह्वान गरेको  छ । सिकार खेलाउन इच्छुक कम्पनीले १५ दिनभित्रमा विभागमा दरभाउपत्र बुझाउने छन्।

बोलपत्रको प्रक्रियाबाट छानिएपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउने छ। गत सिकारयाममा नेपाल ट्राभल एक्पिडिशन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले सिकार खेलाएको थियो।

यसपालि पनि यिनै कम्पनीबीच प्रतिस्पर्धा हुनेछ । बोलपत्रमा हुने प्रतिस्पर्धापछि बल्ल कम्पनीले पाउने सिकारको कोटा र दर थाहा हुन्छ। सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ। कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन्। माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन्। 

सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्ने गरेको छ। एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चन्छन्। सिकारीहरू हेलिकोप्टरबाट आरक्ष पुग्छन्। एक हजार ३२५ वर्गकिमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी तथा हिमाली भू–भागमा पर्छ। 
 

प्रतिक्रिया दिनुहोस