प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्कीको संयोगः एमसीसीमा हस्ताक्षर गर्नेदेखि संसदमा टेबुल गर्नेसम्म

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, १६ : २४
प्रधानमन्त्री देउवा र  सञ्चारमन्त्री कार्कीको संयोगः एमसीसीमा हस्ताक्षर गर्नेदेखि संसदमा टेबुल गर्नेसम्म

काठमाडौं  । विवादकाकीच सरकारले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको लागि टेबुल गर्यो । 

खासमा त्यो सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नुपथ्र्यो । शर्मा विरामी भएको कारण उपस्थित हुन नसकेपछि शुक्रबार एमसीसी सम्झौता सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा टेबुल गरेका थिए । 

संयोग नै मान्नुपर्छ– प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरेका कार्कीले नै अर्थमन्त्रीको रुपमा नेपालको तर्फबाट एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यति मात्र होइन कार्कीले सम्झौतामा हस्ताक्षर र प्रतिनिधिसभा बैठकमा टेबुल गर्दा दुबै बेला देशको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् । २०७४ साउन १० गते एमसीसी सहायता स्वीकार गर्ने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न स्वीकृति दिइएको थियो । उक्त समयमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्की रहेका थिए । 

२०७४ भदौ १९ गते एमसीसी सम्झौतामा हस्ताक्षर गर्न तत्कालिन अर्थमन्त्री समेतको टोलीलाई अख्तियारी दिने सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । यो निर्णय गर्दा प्रधानमन्त्रीमा देउवा र अर्थमन्त्रीमा कार्की थिए । २०७४ भदौ २९ गते नेपालले एमसीसीमा हस्ताक्षर गरेको थियो । त्यतिबेला देशको प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्की नै थिए । एमसीसीमा नेपालको तर्फबाट कार्कीले हस्ताक्षर गरेका थिए । 

तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते एमसीसी अनुमोदनको लागि संसदमा दर्ता गरेको थियो । राजनीतिक पार्टीहरुबीच सहमति बन्न नसक्दा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा अनुमोदनको लागि टेबुल गर्न सकेन । 

प्रतिनिधिसभामा दर्ता भएको ३० महिनापछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आइतबार एमसीसी प्रतिनिधिसभामा टेबुल गर्न सत्ता साझेदार पार्टीहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सँग सहमति कायम गरेका थिए । 

त्यसपछि आइतबार नै बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेबुल गरिएको थियो । एमसीसी अर्थ मन्त्रालयसँग सम्बन्धीत रहे पनि टेबुल भने सञ्चारमन्त्री कार्कीले गरेका थिए । विरामी भएको कारण देखाउँदै अर्थमन्त्री शर्मा प्रतिनिधिसभामा उपस्थित नभएपछि कार्कीले एमसीसी टेबुल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस