स्ववियु निर्वाचनः १३ वर्षदेखि नियमति हुन सकेन

रासस

शुक्रबार, ०६ फागुन २०७८, १५ : ३५
स्ववियु निर्वाचनः १३ वर्षदेखि नियमति हुन सकेन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । 

पञ्चायतकाल, सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासनकालमा  पनि नियमित हुँदै आएकोमा अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने स्ववियु निर्वाचन १३ वर्षदेखि हुन सकेको छैन । गणतन्त्र स्थापना भएपछि एक पटक मात्र भएको निर्वाचन त्यसपछि भने नियमित हुन नसकेको हो । 

त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । विसं २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोेकिएको छ । विसं २०६५ पछि एकै पटक आठ वर्षपछि २०७३ चैत १५ गते भएको थियो । २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि नियमति स्ववियु निर्वाचन भएको छैन । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा त्रिविले स्ववियु निर्वाचन गराए पनि आंशिकरुपमा केही क्याम्पसमा मात्र भएको थियो तर त्यसपछि यता पटक–पटक त्रिविले स्ववियु निर्वाचन घोषणा गरे पनि हुन सकेको छैन । 

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आफ्नो सङ्गठन स्ववियु निर्वाचनका लागि तयार रहेको बताईन । उनले अहिले फागुन १४ गते हुन नसके पनि चैतमा चुनाव गर्नुपर्ने बताईन । “नेपालको शैक्षिक नीति परिवर्तनका लागि मुख्य भूमिका खेल्ने स्ववियु अहिले क्याम्पसमा रहेको छैन”, उनले भनिन, “नेपालको विद्यार्थी आन्दोलनलाई रक्षा गर्ने स्ववियुको निर्वाचन चाँडै तोक्नुपर्दछ ।”

उनले त्रिविलाई स्ववियु निर्वाचनको मिति तोक्नसमेत आग्रह गरीन् । “त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा चाँडै नै विद्यार्थी सङ्गठनबीच छलफल गरेर मिति तोक्नुपर्दछ”, उनले भनिन, “हामी  विद्यार्थी सङ्गठन पनि असहमतिका बाबजुद सहमति खोजेर लामो समयदेखि हुन नसकेको निर्वाचन गर्नुे पक्षमा छौं ।”

नेपाल विद्याथी सङ्घका नेता बलदेव तिमिल्सेनाले त्रिविले चाँडै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए। उनले त्रिविका पदाधिकारीको गैरजिम्मेवारीपन कार्यले निर्वाचन हुन नसकेको बताए। “हामीले निर्वाचन कार्यतालिका तत्काल प्रकाशन गर्न दवाव दिएका छौँ”, उनले भने, “यदि एक हप्ताभित्र निर्वाचनको तालिका प्रकाशन नगरे हामी त्रिविका विरुद्ध निर्वाचन गर्न दबाब दिँदै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस