आज प्रेम दिवस, किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’?

सफल खबर संवाददाता

सोमबार, ०२ फागुन २०७८, ११ : ००
आज प्रेम दिवस, किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’?

आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । खास गरी युवायुवतीहरूले एक अर्काबीच अव्यक्त प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ यो दिनलाई ।

प्रेम दिवसलाई एक प्रकारको प्रेम सप्ताहकै रूपमा पनि मनाउने चलन छ । मलाई प्रेम दिवसले आफ्नै विगत, कलेजका दिनहरू सम्झाउँछ । प्रेम सप्ताह सुरु भएपछि कलेजमा छुट्टै रमाइलो माहोल सिर्जना हुन्थ्यो । कक्षामा हल्ला चलेका जोडीहरूको ससानो हरेक क्रियाकलापले सबैको ध्यान तान्थ्यो । तिनीहरूलाई सहपाठी सबैले जिस्काउँदा लाजको पात्र पनि बन्दथे । 

प्रेम प्रेमिकाको लागि विशेष दिन साँच्चिकै महान् दिन हुँदो रहेछ । माया, सद्भाव, उत्सव र प्रेम व्यक्त गर्ने शैलीले प्रेम प्रेमिकाहरू भावुक हुन्छन् । प्रेम दिवसका दिन सधैँको जस्तो भेट हुँदा जस्तो हात नमिलाएर साथी साथीबीच अँगालो मारिन्थ्यो, यसो गरेर मरी मरी हाँस्थ्यौँ । फेब्रुअरी १४ मा कक्षामा अनुपस्थित हुनेलाई फोन गरेरै जिस्काइन्थ्यो । उक्त दिन खासै पढाइमा ध्यान नलागी मनोरञ्जन र ठट्टामै समय बितेको पत्तै पाइँदैनथ्यो ।

स्कुलका दिनहरू भन्दा कलेजमा हुने गरेका क्रियाकलापले मस्तिष्कमा अझ बढी छाप छोड्दो रहेछ । कैयौँ समयदेखि मन पराएका तर प्रेम प्रस्ताव राख्न नसकेका मेरा साथीहरू यसै समयको पर्खाइमा हुन्थे । प्रेम नै ठुलो शक्ति रहेछ भन्ने मनमा लाग्दथ्यो र मन परेकी युवतीलाई प्रपोज गर्ने उपयुक्त समय ठानिन्थ्यो । कसैले प्रपोज गरेर स्वीकार भएको खण्डमा खुसीयालीमा नजिकका साथीहरूलाई खाजा नास्ताको व्यवस्था गर्नुपर्थ्यो । खाजा ख्वाउन आलटाल गरे कुरा लगाएर टुटाइदिन्छौ भनेर जिस्काउँदा पनि रमाइलो वातावरण बन्दथ्यो । स्कुलको समयमा मन परेको साथीलाई प्रेम प्रस्ताव राख्न लाजले कागजमा लेखेर सुटुक्क उसको किताबको बिचमा राखिन्थ्यो । अर्को दिन के पो हुने हो भन्ने मनमा डरको घण्टी बजिरहन्थ्यो । आफूले मन पराएको समाचार साथीमार्फत सम्बन्धित व्यक्तिमा पुर्‍याउनु, लभ लेटर लेख्नु जस्ता कुराहरू आज पनि सम्झनामा ताजै छन् ।

 

 

विश्वभर मनाइने प्रेम दिवस विभिन्न उपहार, कार्ड, फुल तथा अन्य प्रेमका प्रतीकहरू दिएर एकअर्काबीच प्रेम साटासाट गरिन्छ । आधुनिकतामा लम्किरहेका युवायुवतीहरू प्रेम दिवसको अवसरमा आफ्नो प्रियलाई शुभकामनाका साथै उपहार दिएर यो दिनलाई सार्थक पार्छन् । यस दिन विशेष गरी गिफ्ट पसलहरूमा युवायुवतीहरूले जोडी अंकित मूर्ति, चकलेट, फुल तथा मायाको प्रतीक जनाउने गिफ्ट खरिद गर्नेहरूको भीड हुन्छ । प्रेम दिवसको अवसरमा करोडौँको व्यापार हुने गर्दछ ।

 

यस अवसरमा विभिन्न उपहार कार्डसहित विशेष रूपमा रातो गुलाफको फुल दिने चलन छ । किनकि रातो गुलाफलाई प्रेम र क्षमताको प्रतीकको रूपमा मानिन्छ । यस दिवसको दिन किनेर दिएको गुलाफको फुल भन्दा आफैले टिपेर वा चोरेर दिएको गुलाफको फुलको विशेष महत्त्व राख्दछ भन्ने भनाइ पनि छ । तर यस्तो मान्यताले गलत कामलाई बढावा दिन्छ ।

हुन त प्रेम कुनै विशेष जात, धर्म, उमेर, समुदाय र वर्गमा आधारित नहुने हुँदा प्रेमको महत्त्व सबैमा उत्तिकै रहेको पाइन्छ । प्रेम दिवसलाई अझै उल्लासमय र प्रेममय दिन बनाउन अहिले सामाजिक सञ्जालको पनि ठुलो भूमिका छ । 

सप्ताहकै रूपमा भ्यालेन्टाइन डे

भ्यालेन्टाइन डे लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ । जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ । यस दिनमा युवायुवतीहरू एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ  जाने गर्छन्  । प्रेम दिवस विशेष गरी ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी लोकप्रिय छ ।

भ्यालेन्टाइन डे को इतिहास

संसारभर लोकप्रिय भ्यालेन्टाइन डे को इतिहास रोचक छ । यसको इतिहास एक महान् प्रेमीको वलिदानसँग जोडिएको छ । तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को खास अर्थ फर्केर हेर्दा पादरी सेन्ट भन्यालेन्टाइनको वलिदानी जोडिएको छ । 

तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानव धर्मविरुद्ध भएको ठान्दथे । त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरित लुकिछिपी विभिन्न जोडीहरूको बिहे गराइदिन थाले ।

पादरीले बिहे गराइ दिएको खबर एक कान दुई कान मैदान हँुदै सम्राटसम्म आइपुग्यो । र, सम्राटको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी जेलमा थुनियो । अनि मृत्युदण्ड दिने निर्णय गरियो । भ्यालेनटाइनलाई झुण्ड्याउनु अगाडि उनले ‘लभ फ्रम भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए । 

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइएको थियो । उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो । भ्यालेन्टाइनले ती महिलालाई प्रेमको बारेमा दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ । भ्यालेन्टाइन डे का दिन आफ्नो सन्देश खवर लेखेर प्रेमी प्रेमिकालाई दिने चलन पछि चल्यो ।

भ्यालेनटाइनको बुझाइअनुसार अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन् । त्यसैले उनले राजाको आदेश समेत अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गर्ने, जोडीहरु खोजेर सार्वजनिक स्थलमै सामूहिक विवाह गराइ दिन्थे । 

बीसौ शताब्दीमा आएर भ्यालेन्टाइन डे युरोपभरि मनाउने प्रचलन आयो भने एक्काइसौं शताब्दीमा यो दिवस विश्वभरि मनाउन थालियो । तर विश्वका केही मुलुकहरूमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध गरिएको छ ।  जसमा साउदी अरव, इराक, इन्डोनेसिया छन् भने मलेसियामा मुस्लिमलाई यो दिवस मनाउन प्रतिबन्ध गरिएको छ । 

 विशेषगरी फेब्रुअरी महिनालाई प्रेम र शान्तिको महिना पनि भनेर चिनिन्छ । यस अवसरमा जसरी युवायुवती तथा प्रेमप्रेमिकाहरु प्रेम र विश्वासको प्रतीकको रूपमा मनाइरहेका छन् यो दिवस, यसैगरी सदैव एक अर्काबीच विश्वासको आभास भइराखोस् । यही छ मेरो सबै जोडीहरुमा शुभकामना । शुभ प्रेम दिवस ।

 

 

 

प्रतिक्रिया दिनुहोस