कुटनीतिक मर्यादा र सीमा नाघेर अमेरिकाले नेपाललाई धम्क्यायो : राष्ट्रिय जनमोर्चा

सफल खबर संवाददाता

शनिबार, २९ माघ २०७८, १७ : ४०
कुटनीतिक मर्यादा र सीमा नाघेर अमेरिकाले नेपाललाई धम्क्यायो : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकाले कूटनीतिक मर्यादा र सीमा नाघेर नेपाललाई धम्क्याएको भन्दै त्यसको भर्त्सना गरेको छ ।जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकाल्दै उक्त टेलिफोन संवाद कूटनीतिक मर्यादा र सीमाअन्तर्गतको नभएर त्यसलाई नाघेर अमेरिकाले नेपाललाई दिइएको धम्कीको संज्ञा दिएका छन।

अमेरिकी सरकारका सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर फागुन २६ गतेभित्र संसद्बाट एमसीसी पारित गर्न दिएको दबावप्रति भर्त्सना गरेको हो ।

लुले एमसीसी तोकिएको समयभित्र पारित नगरिए नेपालबारे अमेरिकी नीतिमा पुनर्विचार गर्ने तथा नेपाल चिनियाँ प्रभावमा गएको अर्थमा बुझिने बताएका थिए। अमेरिकाको उक्त धम्कीबाट एमसीसी गलत छ र त्यो नेपालको सार्वभौमसत्ता तथा अखण्डताका विरुद्ध छ भन्ने थप पुष्टि भएको जनमोर्चाले जनाएको छ । अमेरिकाले नेपालमाथि लाद्न खोजेको एमसीसी परियोजना चीनका विरुद्ध रहेको पनि यो धम्कीबाट झन् प्रष्ट भएको उसले जनाएको छ ।

कुनै पनि मुलुकले दिने सहायता, सहयोग वा अनुदान लिन वा नलिन नेपाल स्वतन्त्र रहेको बताउँदै जनमोर्चाले आफ्नो मुलुक अहित हुने विकास परियोजनालाई अस्वीकार गर्दा त्यो विकास परियोजना लिन कुनै पनि मुलुकले नेपाल बाध्य पार्न वा धम्क्याउन नमिल्ने जिकिर गरेको छ ।

प्रतिक्रिया दिनुहोस