नारायणगढ–बुटवल सडकखण्डमा  बढी रूख कटान, छानबिन गर्न निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, २१ : ४०
नारायणगढ–बुटवल सडकखण्डमा  बढी रूख कटान, छानबिन गर्न निर्देशन

काठमाडौँ । नारायणगढ–बुटवल सडकखण्डमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रूख काट्न गलत आँकडा पेस गर्ने र काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ।

प्रतिनिधि सभाअन्तर्गत विकास तथा प्रतिनिधि समितिको शुक्रबारको बैठकले नारायणगढ–बुटवल सडकखण्डका दुवै प्याकेजमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रूख काट्नेमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

आयोजनाको कामै प्रभावित हुने गरी गलत आँकडा पेस गरिएको समितिको ठहर छ। निर्देशन दिँदै समिति सभापति कल्याणीकुमारी खड्काले भनिन्, ‘नारायणगढ–बुटवल सडकखण्डका दुवै प्याकेजमा स्वीकृति दिएको डिपीआरमा उल्लेख भएभन्दा क्रमशः ५७६ प्रतिशत र ४४० प्रतिशत रूख काटिनुपर्ने कारणले आयोजनाको काममा ढिलाइ भएको भन्ने तथ्य पेस भएको सन्दर्भमा आयोजनाको कामै प्रभावित हुनेगरी गलत आँकडा पेस गर्ने र उक्त कार्यलाई स्वीकृत गर्ने पदाधिकारीमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्छ।’

त्यसैगरी, बैठकले छिमेकी राष्ट्रबाट नेपाल प्रवेश गर्ने ठूला मालवाहक सवारी साधनले निर्धारित मापदण्ड र सडकको क्षमताभन्दा बढी मालवस्तु बोके, नबोकेको सम्बन्धमा प्रवेश नाकामै परीक्षण गर्नका लागि नीतिगत व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस