माओवादी केन्द्रले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछि गर्ने

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, १२ : ३३
माओवादी केन्द्रले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछि गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछिमात्रै गर्ने भएको छ ।आइतबार दिनभर र सोमबार बिहान भएको माओवादी शीर्ष नेताहरुको छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो रणनीतिबारे आउँदो केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति बनेको हो ।

माओवादीले आउँदो २७ गतेदेखि पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकमा एमसीसीबारे कुरा उठाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले बताए ।केन्द्रीय समिति बैठकअघि २६ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न नदिने र केन्द्रीय कमिटी बैठकपछिमात्रै त्यसबारेमा ठोस निर्णय गर्ने समझदारी बनेको माओवादीका एक नेताले बताए ।

उनका अनुसार, छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले गठबन्धन जोगाउन एमसीसीको अमेरिकास्थित मुख्यालयलाई पत्र पठाउन बाध्य हुनुपरेको बताएका थिए । आइतबार प्रचण्डको सचिवालयले पनि त्यही व्यहोराको स्पष्टीकरण सार्वजनिक गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा संसदको यही अधिवेशनमा र सकेसम्म आउँदो २६ गते नै एमसीसी अनुमोदनसम्बन्धी परियोजना संसदमा टेबुल गर्ने पक्षमा छन् । उनले छलफल पनि त्यही अनुसार अघि बढाइरहेका छन् । तर सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादीको उनलाई समर्थन छैन ।

प्रतिक्रिया दिनुहोस