एमसिसी संसदमा टेबुल गर्न जानकारीसंगै सभामुख सापकोटाले थाले तयारी

पत्रपत्रिकाबाट

सोमबार, २४ माघ २०७८, ०७ : ५७
एमसिसी संसदमा टेबुल गर्न जानकारीसंगै सभामुख सापकोटाले थाले तयारी

काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्ने तयारी गरेको जानकारी सभामुख अग्निप्रसाद सापकोटालाई दिएको छ।

सरकारबाट जानकारी आएपछि सभामुख सापकोटा गृहकार्यमा जुटेका छन्। सरकारले एमसिसी टेबुल गर्ने तयारी भएको जनाउ दिँदै आवश्यक प्रक्रिया अघि बढाउन सभामुख सापकोटालाई आग्रह गरेको छ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आइतबार सभामुख सापकोटासँग भेट गर्दै माघ २६ गतेको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल गर्ने तयारी भएको जानकारी गराएका हुन्। २०७६ असार ३० गते संसद्मा एमसिसी दर्ता भएको थियो। सरकारबाट जानकारी आएपछि सभामुख सापकोटाले निकटका केही व्यक्तिसँग परामर्श लिएको स्रोतले बताएको छ।

सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाउने भएका छन्। समितिको बैठकअघि थारू आयोगको प्रतिवेदन र पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पारित गर्ने विषय सम्भावित कार्यसूचीमा राख्ने तयारी गरिएको छ। स्रोतका अनुसार सभामुख सापकोटाले सदन बिनाअवरोध सञ्चालन हुनुपर्ने मुख्य सर्त तेस्र्याएका छन्। संसद् अवरुद्ध भइरहेका बेला एमसिसी टेबुल गर्न नहुने उनको अडान छ। 

स्रोतका अनुसार राजनीतिक सहमतिबाट एमसिसी सदनमा आए आफू बाधक नबन्ने उनको भनाइ छ। सदन अवरुद्ध भइरहेका बेला होहल्लाबीच एमसिसी पारित गर्नुभन्दा छलफल गरेर निर्णय लिनु राम्रो हुने उनको तर्क छ।नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस