प्रदेश १ मा ८ मन्त्रीले लिए शपथ

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, १४ : ०४
प्रदेश १ मा ८ मन्त्रीले लिए शपथ

मोरङ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषिमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

यस्तै, सामाजिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका झलनाथ खनाल निकट खिनु लङ्वा लिम्बु र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नाता सम्बन्धका उपेन्द्र घिमिरेले शपथ लिएका हुन् ।

कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगीले शपथ लिएका छन् । कांग्रेसबाट शपथ लिएका तीन जनामध्ये थापा र हाङ्गाम सभापति शेरबहादुर देउवा निकट र सरावगी कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् । मन्त्रिपरिषद् विस्तारमा कांग्रेसका शेखर कोइराला समूहलाई वाइपास गरिएकाले असन्तुष्ट छन् ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले आइतबार ७ बाट मन्त्रालयको संख्या १२ पुर्‍याउने निर्णय गरेको थियो । तर, अहिले अझै एउटा मन्त्रालय थप गरेर मन्त्रालयको संख्या १३ पुर्‍याएको हो ।

यसअघि मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका उपनेता हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री, आर्थिक मामिला तथा योजनामन्त्रीमा आङ्बो र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की छन् । सामाजिक विकास राज्य मन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे नियुक्त भएका हुन् । शपथ ग्रहण कार्यक्रममा मन्त्री केदार कार्की अनुपस्थित रहे ।

प्रतिक्रिया दिनुहोस