चितवन र नवलपुरका सुरक्षा अधिकारीको संयुक्त टोली नारायणी नदी किनारमा

प्रकाश सिग्देल

शनिबार, २२ माघ २०७८, १९ : ०५
चितवन र नवलपुरका सुरक्षा अधिकारीको संयुक्त टोली नारायणी नदी किनारमा

चितवन । चितवन र नवलपरासी (बर्दघाट सुस्ता पुर्व)का सुरक्षा अधिकारीको संयुक्त टोलीले नारायणी नदीको कटान र यसको बहावले पार्ने असरको फिल्डमै पुगेर अध्यन गरेको छ । 

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलको नेतृत्वमा चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख सहितको टोलीले ज्ञानेश्वर सामुदायीक वन क्षेत्रमा पुगेर त्यहाँबाट गैँडाकोट र चितवन तर्फको नदी किनारको अवस्था र पानीको बहावको मुल्याकंन गरेको हो । 

नदी किनारमा बिगतमा गरिएको तटबन्धको काम, त्यसले कटान र डुवान न्युनिकरणमा भएको सफलता संगै गैँडाकोट तर्फको जमिन संरक्षणका लागि कसरी काम गर्ने भन्ने बिषयमा दुबै क्षेत्रको भुगोलको अध्ययन गरी छलफल गरिएको गैँडाकोट नगर प्रमुख मेयर छत्रराज पौडेलले बताए । वर्षा सुरु हुनु पुर्व नै नदीको क्षेत्रको अध्ययन गरेर सम्भावित जोखिमलाई रोक्नका लागि आवस्यक रणनिति बनाउन सहज होस भन्ने उद्देश्यका साथ संंयुक्त अनुगमन गरिएको पौडेलको भनाई छ ।

जोखिमयुक्त स्थानहरुमा सुरक्षाका विधी अबलम्वन गरी बेलामै  तटबन्ध गरेर  नदीलाई आफनै धारमा पठाउन सके त्यसले चितवन र नवलपरासी दुबै जिल्लालाई कटान र डुवानबाट जोगाउन सक्ने देखिएको पौडेलको भनाई छ ।

अहिले चितवन तर्फ तटबन्धका लागि काम भएकाले नवलपुर तर्फ गैँडाकोट क्षेत्रमा पनि तटबन्ध गरिएन भने नदी बस्ति पस्न सक्ने जोखिम रहेकाले दुबै क्षेत्रका अधिकारीहरु फिल्डमै पुगेर निरिक्षण गरी आवश्यक राय लिईएको पौडेलले बताए । सबैबाट आएको सुझावलाई केन्द्र सरकार र प्रदेश सरकार समक्ष पठाएर गैँडाकोट तर्फ पनी तत्काल तटबन्धका लागि काम गर्न दवाब दिईने पौडलको भनाई छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले नदीको पानीको बाहव कसरी बहिरहेको छ र आगामी दिनमा नवलपुर गैँडाकोट तर्फ र चितवन तर्फ पार्न सक्ने जोखिमलाई कसरी समधान गर्ने भन्ने बिषयमा उचित रायका लागि आफुहरु  निरिक्षण गर्न ज्ञानेश्वर वन क्षेत्रको नदी किनारमा पुगेको बताए ।

सरकारले तटबन्धका लागि टेन्डर आवहन गरी काम गरेकाले अब समस्या सहज हुने उनको भनाई छ । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सबै आधारहरुलाई हेरेर नदीको बहाब बढेर आउदा पनि दुबै क्षेत्रलाई समस्या नहुनेगरी नदी संरक्षणका लागि काम अगाडी बढाउनु पर्ने बताए ।

फिल्ड निरिक्षण पछि राज्य सरकारलाई प्रभावकारी सुझाव दिन सकिन्छ भन्ने उद्देश्यका साथ दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको संयुक्त टोलीले निरिक्षण गरेको गँैडाकोट वडा नम्वर ५ का अध्यक्ष नवराज कंडेलले बताए । गैँडाकोट र चितवनतर्फ दुबै क्षेत्रमा नारायणी नदीको हालको अवस्था र त्यसले आगामी असार साउनमा नदीको बहाव बढेर पार्न सक्ने जोखिम र त्यसलाई कसरी बेलैमा समाधान गर्न सकिन्छ भन्ने बिषयमा पनि अनुगमनमा छलफल भएको उनि बताउँछन् ।

प्रतिक्रिया दिनुहोस