चुनावको औपचारिक मिति घोषणा गर्न ल्याङल्याङ !

सफल खबर संवाददाता

शुक्रबार, २१ माघ २०७८, २० : १२
चुनावको औपचारिक मिति घोषणा गर्न ल्याङल्याङ !

काठमाडौँ । चुनावको औपचारिक मिति घोषणा गर्न ल्याङल्याङ भइरहेको छ । २०७९ जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने सहमति भएको चार दिनसम्म पनि सरकारले औपचारिक रूपमा मिति घोषणा गर्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच माघ १८ गते मंगलवार जेठ ४ मा स्थानीय तहको चुनाव गर्ने सहमति भएको थियो । 

निर्वाचन आयोगसँगको छलफलमा सरकारले २० गते बिहीवार मन्त्रिपरिषद्को बैठकबाट मितिको औपचारिक घोषणा गर्ने भद्र सहमति जनाएको थियो । तर बिहीवार मन्त्रिपरिषद्को बैठक नै बस्न सकेन । अब सोमवार बस्ने मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने भाका सरेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेअनुसार जेठ ४ गते चुनाव गर्न सरकारले सहमति जनाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि उत्साहित छ ।

जेठ ४ गतेको प्रस्ताव आयोगको मात्र नभई स्वयं प्रधानमन्त्री देउवाको समेत रोजाइको थियो । निर्वाचन आयोगले जेठ ४ को प्रस्ताव लग्नुअघि नै प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको बागमती प्रदेश समितिका पदाधिकारीसँग जेठ ४ गते चुनाव हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस