स्पष्ट नीति नहुँदा अर्थतन्त्रमा समस्या देखा पर्‍यो: जनार्दन शर्मा

सफल खबर संवाददाता

सोमबार, १७ माघ २०७८, १५ : ०६
स्पष्ट नीति नहुँदा अर्थतन्त्रमा समस्या देखा पर्‍यो: जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताएका छन् । आइतबार अर्थविद्हरूसँग मन्त्रालयमा भएको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव पनि औंल्याए ।

‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको आज अभाव देखिरहेको छ’, मन्त्री शर्माले भने, ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेका छन् ।’सबै समस्याको जड राजनीति भएको भन्दै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए । दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उनको बुझाइ छ ।

‘वास्तवमा अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरूको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो’, उनले भने, ‘नेपालको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल अर्थतनीति यो हो भन्ने कुराको स्पष्ट राजनीतिक खाका आवश्यक छ ।’

छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धराशायी भइनसकेको आश्वस्त पारे । यद्यपि थप खराब अवस्थातिर जान नदिन उपायहरू अवलम्बनको सुझाव दिए । विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि मन्त्रीलाई आग्रह गरे ।

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.शंकर शर्मा, प्रा.डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको उपस्थिति थियो । त्यस्तै भारतका लागि नेपालका पूर्वराजदूत डा. दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा. रामकुमार फुयाललगायतको उपस्थिति थियो ।


 

प्रतिक्रिया दिनुहोस