'भेरोसेल' खोप लगाएकालाई सरकारले लगाउन थाल्यो 'कोभिसिल्ड'को ‘बुस्टर डोज’, अर्को थरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमता झनै राम्रो हुने

सफल खबर संवाददाता

सोमबार, १७ माघ २०७८, ०९ : ००
'भेरोसेल' खोप लगाएकालाई सरकारले लगाउन थाल्यो 'कोभिसिल्ड'को ‘बुस्टर डोज’, अर्को थरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमता झनै राम्रो हुने

काठमाडौँ । शुरुमा ‘भेरोसेल’ खोप लगाएकाहरुलाई सरकारले बुस्टरको रुपमा ‘कोभिसिल्डझ् खोप लगाउन थालेको छ । सरकारसंगै कोभिसिल्ड खोपको मौज्दात पर्यात्पा र भेरोसेलको अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।

विश्व स्वास्थ्य संगठनको (स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्टस् अन इम्युनाइजेसन) ले १ महिना अघि एकथरी खोप लगाएकोले अर्को थरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमताले राम्रो प्रतिक्रिया दिने बताएको थियो ।

सोही अनुसार विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

सरकारले माघ २ देखि अग्रपंक्तिमा खटिने, माघ १४ देखि ६० वर्षमाथि र पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिने भनी २०७८ पुस ९ गते निर्णय गरेको थियो । यसअघि खोप सल्लाहकार समितिले पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो त्यही खोप बुस्टरमा पनि लगाउन सिफारिस गरेको थियो ।

त्यसैगरी पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । साथै विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना, फाइजर, भेरोसेल खोप लगाएकाहरुको हकमा दोस्रो मात्राको रुपमा कोभिसिल्ड, एस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय गरेको छ । खोपको अभाव भएपछि पहिले भेरोसेल लगाएकाले बुस्टर डोज पाएका थिएनन् ।