जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, १८ : ५७
जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौँ । आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्ने गरि प्रक्रिया अघि बढाउने निर्णय लिएको छ।

आगामी जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न पनि गठबन्धनले सुझाव दिने निर्णय गरेको छ। शनिबार दोस्रो पटक बसेको सत्ता संयन्त्र र कानुनविदसहितको बैठकपछि सञ्चारकर्मीसँग बालुवाटारमा कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न गर्ने गरी आवश्यक तयारी थाल्न सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको बताए ।  उनले भने, ‘त्यसका लागि आवश्यक संविधान र कानुन संशोधनसहितका प्रक्रिया पनि अघि बढाउन सरकारलाई संयन्त्रले पनि सुझाव दिनेछ।

निर्वाचन मिति तोक्नका लागि सरकार र गठबन्धनले निर्वाचन आयोगसँग आवश्यक परामर्श गर्ने पनि कार्कीले जानकारी दिएका छन्।  ‘निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी थाल्न गठबन्धन बैठकले सुझाव दिएको छ’ उनले भने, ‘जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने दिशामा गठबन्धन अघि बढेका छन्।’ आगामी वैशाख जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमाथि दबाब बढिरहेको थियो। निर्वाचन आयोगले मिति घोषणाका लागि तीन पटकसम्म सरकारलाई ताकेता गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे पत्र पठाएर निर्वाचन सार्ने नाममा गरी संविधान र कानुन संशोधन निराशाजनक हुने बताएकी थिइन्। 

प्रतिक्रिया दिनुहोस